~शान्ति वाइवा~
‘लौ लगनखेल …. लगनखेल …. लगनखेल १’
खलासी सोनामले माइक्रोबसको ढोकैमा ढ्याप–ढ्याम हाने। वरिपरिकाहरूले उसैलाई हेरिरहेका थिए। ओठ निचोर्दा दूध आउलाजस्तो सोनामको अबोध अनुहार देखेर यात्रुहरू पनि छक्कै परे। सोनामका मसिना र नरम औंलाहरू पनि रातै बनेका थिए। दाइने हातको बूढीऔंलामा ब्यान्डेज लगाएको थियो।
यात्रुहरू हतारहतार माइक्रो चढे।
‘ओई सोनाम ढोका राम्रोसित लाऊ त,’ सबैभन्दा अगाडिको सिटबाट ड्राइभर मिक्साङले हकारे। साइनोमा मिक्साङ सोनामको काका पथ्र्यो। उसैले सोनामलाई फकाएर तिमाल गाउँबाट खलासी बनाउन काठमाडौं ल्याएका थिए। आखिर सोनाम फस्यो।
‘कति वर्ष भयो बाबु तिमीले?’ रातो स्विटर लाएर ढोका छेवैको सिटमा बसेकी मोटी आइमाईले सोनामलाई सोधिन्।
‘यो ल्होछार (नयाँवर्ष) मा पूरा दस वर्षको हुन्छु,’ सोनामले भुइँतिर हेर्दै भने। ‘लौ हेर, यति सानो उमेरमा खलासी बनेको…’ मोटी आइमाईले जिब्रो निकालिन्। ‘अनि स्कुल जाँदैनौं बाबु?’ मोटी आइमाई छेवैको एक भलाद्मी यात्रुले सोधे। ‘४ कक्षा पढ्दै छु,’ सोनामले जवाफ दिए। ‘अनि यसरी स्कुल छोड्नुहुन्छ त मोरा?’ सिट समातेर उभिरहेको अर्को भुसतिग्रे यात्रुले भने।
सोनामले यो प्रश्नको चाहिँ जवाफ दिएनन्। उनले माइक्रोबसको ढोकाको सीसा सारे, अनि बाहिरतिर टोलाएर हेर्न थाले। सोनामलाई आफू पढेको तिमाल गाउँको स्कुलको यादले छोयो। माइक्रोबस सिंहदरबार नाघेर माइतीघरतिर अघि बढ्दै थियो। ‘ओइ सोनाम १ कता हराएको? मान्छे बोलाउनुपर्दैन मूर्ख?’ अगाडिबाट ड्राइभर मिक्साङले उनलाई हकारे। माइक्रोबस माइतीघरमा रोकिसकेको थियो। सोनामले हतार हतार ढोका खोले। सिट नभए नि जोडतोडले ‘लगनखेल १ लगनखेल १’ भन्दै मान्छे हाल्न थाले। यात्रुहरूको भीडमा सोनामकै उमेरको सानी स्कुले केटी डोर्याउँदै एक व्यक्ति माइक्रोबसमा कोच्चिए। सानी केटीले पछाडितिर स्कुल ब्याग बोकेकी थिइन्। सोनाम ती केटीको स्कुल ब्याग एक तमासले नियाल्न थाले।
उनी स्कुलबाट फर्किंदा आमाले सधंै मकै भटभास भुटेर खाजा तुल्याई राख्नुहुन्थ्यो। मुलाको अचारसित मकै भटमास खाएपछि उनी मास्तिर म्हाने चौरतिर पाइपको पाङ्ग्रा गुडाउन जान्थे। लोप्साङ र दोर्जे पनि उनको पछिपछि दगुर्दै आउँथे। उनीचाहिँ पीपलको रूखमा चढेर लुक्थे।
‘घच्याक्क घच्याक्क घ्याररर…’ ड्राइभर मिक्साङले माइक्रोबस हुत्याए। सोनामको टाउको बेस्सरी ढोकामा ठोक्कियो। सबैको अगाडि आवाज निकालेर रुन त सकेन तर आँखाबाट आँसु तररर बग्यो। टाउकामो ठूलै टुटुल्को उठेको थियो। दरफरिएर अलिकति घाउ पनि भएको थियो।
‘के हो ड्राइभर भाइ १ यति सानो बच्चालाई खलासी राखेको छ, त्यही पनि मनलाग्दो हुत्याएको छ। हेर बिचराको टाउकोमा चोट लाग्यो,’ अघिकै रातो स्विटरवाली मोटी आइमाई कराइन्।
‘तपाईंलाई के मतलब? खुरुक्क पैसा तिर्नुस् अनि झर्नुस् न,’ ड्राइभर मिक्साङ च्याँठिए। ‘ए त्यसो पो, ल माइक्रो रोक्नुस्।’
माइक्रो कुपण्डोल प्रहरीबीच छेउ रोकियो। मोटी आइमाई झरिन्। अरू पनि यात्रु ओर्लिंदै थिए। तत्काल मोटी आइमाई त प्रहरी लिएर पो आइपुगिन्।
‘बालश्रम शोषण गर्ने यही ड्राइभर हो सर। विचरा खलासी नानीको टाउकोमा चोट पनि लागेको छ। उपचार गर्नुको साटो झन् हप्काउँदै काम पो लाइराखेको छ,’ मोटी आइमाईले ड्राइभरलाई औल्याउँदै भनिन्।
‘हो, हजुर १ मलाई काकाले सहर घुमाउँछु भन्दै फकाएर ल्याउनुभएको। घर जान्छुभन्दा पनि दिनुहुन्न। गाउँ जाने बाटो मलाई थाहा पनि छैन,’ प्रहरीलाई देखेपछि सोनामले पनि रुँदै भने।
‘ल अब नरोऊ, सबै ठिक हुन्छ। तिम्रो उपचार पनि हुन्छ। घर पनि जान पाउँछौ,’ प्रहरीले भने। ड्राइभर मिक्साङलाई चौध वर्षमुनिका बालबच्चालाई काममा लाएको भन्दै प्रहरीले समाते। सोनाम खुसी देखिए।
प्रकाशित: आश्विन १०, २०७२
(स्रोत : Kopila – Kantipur)