रत्नपार्कको भीडबिच म पनि आफुलाई कोचेर हिँडी रहेकी थिएँ। अनायस मसिनो आवाजले म झस्किएँ।
“ल बहिनी लिनोस,नेपाली पत्रपत्रिका,कबिताका,मनोरन्जनका किताबहरु”यसो भुइँमा नजर दौडाएँ।
एउटी महिला काखमा यस्तै ६/७ महिनाको बालक च्यापेर एउटा थोत्रो तन्ना ओछ्याएर केही किताब,पत्रपत्रिकाहरु छरपस्ट पारेर आफ्नो जीजिबिषा पोखिरहेकी थिइ। म टक्क अडिएँ ।
उस्को मायालु आवाजले र सोँधे। “सबैभन्दा धेरै कुन चाहिँ बेच्नु हुन्छ?”भनेर ।
उस्ले जवाफ दिइ। अलिक अश्लिल तस्बिर भएका किताबहरु देखाउँदै। “धेरै बिक्ने त यही हुन नी। ” अनी फेरि भनि “दैनिक पत्रीकाहरु पनि अलिक खतरा र मारेको,मरेको बिनाश भएको खबर छ भने चाँडै र धेरै बिक्छन।”
अनी फेरि मैले सोंधे “परदेशबाट” नामक कबिता संग्रह उठाएर “यो नी”?
उसले नाख खुम्च्याउँदै भनि “कहाँ बिक्नु नी?मलाई जबर्जस्ती किताब पसलेले यो पनि बेच्न सक्यौ भने एउटा बेचे वापत २ रु,दिन्छु भनेर १० वटा भिँडाए। खै अहिले सम्म हप्तादिन भो किन्न त के कसैले पनि हेरेकै छैनन् । अब आज फिर्ता दिन्छु उसैलाई। ”
उस्को वाक्य सुन्नासाथ मैले “ल दिदी ती किताबहरु मलाई दिनुहोस् म किनिदिन्छु। कमसेकम तपाईंलाई २० रु,त आउँछ। ”
यत्ती के भनि सकेकी थिएँ। उ खुशीले प्रफुल्ल भई। ती किताबहरु समेटेर मलाई जिम्मा लगाउन आतुर बन्दै भन्न थाली। के गर्ने? “हामीले त पेट पाल्नु पर्छ। जुन बिक्छ त्यहि नै ल्याउँछौ र बेच्छौं। “यत्ती भन्दै उसले ती किताबहरुमा घोरिएर नजर लगाइ मानौ आज मात्र उसले त्यो किताबमा राम्रोसँग नजर दौडाइ रहेकी छे। उ किन हो किन अलिक मुहारको आक्रिती फेर्दै मलाई ती किताबहरु जिम्मा लगाइरहेकी थिइ। मैले हत्त पत्त किताबका दाम बुझाएँ र त्यहाँबाट बाटो लागेँ । उस्ले मलाई परसम्म हेरिरहेकी थिइ। खै!किन हो?नत त्यो किताबकी लेखिकाको तस्बिरसँग मेरो मुहार मिलेर झस्किएर हेरी वा आज यस्तो कबिताको किताब पनि बेच्न सकेँ भनेर छक्क परी।
(स्रोत : Satakosahitya)