मूलै खामो मक्केको यो काठेघर फाल्नुपर्यो
इँटैइँटको नयाँ घर बनाउन लौ थाल्नुपर्यो ।।
सबै दाजुभाइका लागि बेग्लाबेग्लै कोठा
एकै छतमुनि हुनेगरी जग हाल्नुपर्यो ।।
झूल टाँगी हुन्न अब, लामखुट्टे धपाउन
कसिङ्गर थुपारेर झट्टै घूर बाल्नुपर्यो ।।
हाम्लाई पोल्ने सिस्नुघारी हाम्रै चिहानमाथि
कसले किन रोप्यो छोडौं, उखेलेर फाल्नुपर्यो ।।
आदमखोर जनावरको बानी जान्दाजान्दै
चिडियाखाना नपठाई घरमा किन पाल्नुपर्यो ।।
काँधमाथि देश उठाई सगरमाथा चढ्न
होस्टेमाथि हैंसे गर्दै सबले पाइला चाल्नुपर्यो ।।
‘समयलाई सलाम’
नेपाल साप्ताहिक, २०६३
(स्रोत : साहित्य संग्रहालय )