ऊ भन्छ/उनी भन्छिन् र उनीहरु भन्छन्
बिहान कोमल हुन्छ फूल जस्तै
ऊ भन्छ उनी भन्छिन् र उनीहरु भन्छन्
बिहान सरल हुन्छ मन जस्तै
र, सबै सबैले भन्ने गर्छन्
बिहान शीतल हुन्छ तरल हुन्छ र नरम हुन्छ
यसैले हामीलाई बिहान मन पर्छ
होला…तिम्रो दृष्टिकोणमा त्यस्तै होला
होला…तिमीहरुको नजरमा उस्तै होला
तर मलाई बिहानहरु मन पर्दैनन्
भने नि मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्
धेरै पटक तिम्रा कोमल बिहानहरुले
मेरा रङीन सपनाहरु खोसेर लगेका छन्
मेरा इन्द्रेणी सपनाहरु लुछेर लगेका छन्
धेरै पटक तिम्रा कलिला बिहानहरुले
मैले देख्दा देख्दैको सपना भत्काएर गएका छन्
घाउमाथि नून छर्किने बिहानलाई
म कसरी कोमल भनूँ ?
चोटमाथि चोट थप्ने धारिलो बिहानलाई
म कसरी सुन्दर भनूँ ?
होला…… तिम्रा लागि बिहान मीठो अनुभूती होला
तर मलाई बिहानहरु मन पर्दैनन्
भने नि मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्
सपनामा
कुनै बेला म ‘अन्ना’को काखमा बसेर
प्रणयका बाँसुरी धून बजाउँथे
‘अन्ना’ समर्पणका पाउजु लगाएर छम्छम्ती नाच्थिन्
म गीतका भाकाहरु सुसेल्थेँ
उनी शारदी मुस्कानमा हाँस्थिन्
लुम्लेका पाखाहरुमा
कहिले गुराँश रातै भएर फुल्थे
कहिले हिउँ सेतै भएर झर्थे
एकदिन हामीले स्पर्शबिहीन प्रेमका सीमाहरु भात्काएर
आलिङनमा बाँधिने बेला
बिहान आएर मेरा सपनाहरु भत्कायो
त्यो दिन देखी मैले सपनामा ‘अन्ना’ देखेको छैन ।
मलाई बिहानहरु मन पर्दैनन्
भने नि मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन् ।
(सपना लामो कविताबाट)