कालो बादलले आकाश ढाकिरहँदा पनि
चम्किरहने तपाईँको सूर्य
खै ! आजसम्म उदाएन ।
जिन्दगी, औँसी / पूर्णिमा
उकाली / ओराली हो ।
यसरी नै तपाईँ स्नातक महरुलाई
परिभाषा दिनुहुन्थ्यो जिन्दगीको ।
तर सर अहिले जिन्दगीहरु अवरोहको अवरोह नै छन्
औँसी नै औँसीको ढाकर बोक्दै
ओराली लाग्दैछन् ।
सर , यसबेला म अतीत सम्झिरहेछु
तपाईँका आशा र प्राप्तिका आदर्शमय लेक्चरहरु गुनिरहेछु
र दिग्भ्रमित हुँदै
तपाईँको डिग्रीमा अविश्वासको कालो बार्निस पोतेर भन्दै छु
यतिखेर निराशा उदाएको छ
आशा पूर्णतया अस्ताएको छ ।
तपाईँ आफैँ ब्रम्हाण्ड भएर पनि
जीवनका स्वप्निल रहरहरुलाई
चकको धूलोमा उल्थ्याउनुको नियति चपाउँदै
डस्टरले मेटिएको पीडित शब्द झैँ हुनुहुन्थ्यो सायद ।
अफसोच छ सर
निष्ठाको नदीमा वेगिलो छालले खिएर पढाउनुहुन्थ्यो रछ तपाईँ
अहिले ती पढाइ र उपदेशहरु
निस्तत्वको प्लाष्टिक सर्जरी गरेर आफूलाई
हुँकार्दैछन् कट्टेलसरहरुलाई ।
त्यसैले सक्नुहुन्छ भने कट्टेलसरहरु
जिन्दगीको परिभाषा बदल्नुस्
प्रशोधन गर्नुस् आदर्शका वाक्यहरु
अहिले तपाईँहरुको योग्यतामा प्रश्नचिन्ह लाउँदै
लामबद्ध छन् धेरै स्नातकहरु ।
(‘शीतको शिविरमा’ कविता सङ्ग्रहबाट)
(स्रोत : Umesh Luitel’s Facebook)