जुलुसमा कुनै झन्डा छैन
किनभने बहुलाही आमाहरूको कुनै झन्डा हुँदैन
जुलुसमा कुनै नारा छैन
किनभने बहुलाही आमाहरूको कुनै नारा हुँदैन
सम्सुद्दीनका आक्रमणहरूदेखि बेखबर
पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू
पिंजडामा तित्रा बोकेर
छाती भरिभरि
छातीमा नअटाउने गरी
‘मञ्जुश्रीपट्ट’का विशिष्ट पदकहरू टाँसेर
भण्डारखालतर्फ कूचमार्च गर्दा
जड्डबहादुरहरूको छालाको शिकार खेल्न
देशमा–
बहुलाही आमाहरूको जुलुस निस्केको छ ।
आमाहरू नाड्डै छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै लुगा लाएका छन्
आमाहरू भोकै छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै अन्न खाएका छन्
आमाहरू मैला छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै पानी पिएका छन् ।
क्षितिजबरैको अतीतमा
कुनै बेला
आत्मबलिदानी छोराहरूको चिन्ताले
खग्रङ्ग वन डढेझैं
मन डढेका आमाहरू
त्यही डढेको मनमा
शाश्वत आस्थाका स–साना सिन्का उमारेर
देशका जुँगाहरू उल्ट्याउने खेल खेल्दैछन्,
बिनाहाँसोको चेतना
बहुलाही आमाहरू हाँस्दैछन्,
बिनाआँसुको चेतना
बहुलाही आमाहरू रुँदैछन्,
र बिनाजुलुसको चेतना
बहुलाही आमाहरू जुलुसमा हिंड्दैछन्
छोराहरू
जुगाहरूसित लड्दालड्दै जुगा बने
आमाहरू बहुलाए,
छोराहरू सर्पहरूसित लड्दालड्दै सर्प बने
आमाहरू बहुलाए,
छोराहरू
ब्वाँसाहरूसित लड्दालड्दै ब्वाँसा बने
आमाहरू बहुलाए
जब जब इतिहास बोकेका छोराहरूले
भविष्य हराउँछन्
वर्तमान–सूर्यका सप्तरड्डी घोडाहरूलाई चाबुक मारेर
सद्दे आमाहरू बहुलाउँछन्
ए अब ती दिनहरू कति टाढा छन्
जब बहुलाही आमाहरूले
छोराहरूको घाँटी निमोठ्नेछन्
र राष्ट्रिय महाभारतको शान्तिपर्वमा
आफ्नै छोराहरूको लास
चिन्न इन्कार गर्नेछन् …. ?
पोखरा
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )