~अनुज श्रेष्ठ ‘प्रवास’~
जसरी साँट्छे
नयाँ नयाँ ग्राहक सँग वेश्या
प्रत्येक रात र दिन
त्यसरी नै साँट्छ समय
सत्ता र शक्ति
वेश्यालयमा झैं
राजनीतिको पर्दा भित्र पनि
सधैं नाङ्गिन्छ मान्छे
क्रय-बिक्रय हुन्छ मान्छे
समाजले तिरष्कृत गर्ने
वेश्या झैं
नेता तिरष्कृत छ हर गल्ली
चौक र बस्तीमा
वेश्या कसैलाई मायाका
गम्भीर वाचाहरु गर्दिन
तर नेता संवेदनशील वाचाहरु मात्र गर्छ
र निभाउँदैन कहिल्यै
त्यसैले वेश्या नेता भन्दा माथि छे
वेश्या बेच्छे आफूलाई
तर बेच्दिन सहिदका सपनाहरु
हिंड्दिन कुल्चेर क्रान्तिकारीका
आस्था र विचारहरुलाई
र ,ऊ जान्दिने
रणनीतिक छलकपटहरु…..
मात्र उस्लाई थाहा छ
वेश्याको धर्म ,
वेश्यालयमा उस्कालागि सधैं
गरम चिया बोकेर आउँने
सानो केटो प्रति
ऊ अगाध माया गर्छे
दया गर्छे
र , छातीबाट निकालेर
चियाको दोब्बर दाम दिन्छे
तर नेता उस्लाई
आस्थाको अबिर घस्ने आफ्नै
गरिब बस्ती सँग
दया राख्दैन
माया राख्दैन
ऊ सत्ता र शक्तिमा
पुगेपछि
वेश्याले पनि थुक्ने
इमान बेच्ने अर्को
वेश्या बन्छ ।
(स्रोत : Satakosahitya)