हिंसाको खेती
मलिलो हुदैछ त्यो माटो
मानव रगत-मासुले,
सायद अब पखालिँदैन कहिल्यै
त्यो माटो मान्छेको आँसुले ।
लागायौ खेती हिंसाको
उजाडेर हिजोको त्यो
मनोहर मानव वस्ती,
हराभरा हुदैछ अहिले
जताततै तिम्रो हिंसाको खेतीले
त्यो मेरो निरिह धरती !
घोचिरहेछौ हिंसाका फालीहरू
मान्छेका छातीहरुमा
जोतिरहेछौ हिंसाका हलोहरू
मान्छेका हृदयहरूमा !
मान्छे फाँडेर रोपिंदैछ हिंसा
हरेक दिन फस्टाउँदो त्यो
तिम्रो खेतीकिसानीमा
चिचिला, कोपिला, महिला
छिमलिदैछन् दिनहुँ
तिम्रा ति खुँडा खुकुरीका
निर्मम निसानीहरुमा !
हालिरहेछन् गाँजहरु त्रासदीका
झांगिरहेछन् मारकाटका हाँगाहरु
फक्रिरहेछन् कोपिलाहरु अपहरणका
फलिरहेछन् निर्मम हत्याका फलहरु
पाकिरहेछन् बीउहरु दण्डहीनताका
उन्नत विरुवाहरु उम्रिरहेछन्
निरन्तर भयावह हिंसाका
मौलाइरहेछ खेती तिम्रो
वस्ती वस्तीमा मान्छेका !
मौलाइरहेछ खेती तिम्रो
वस्ती वस्तीमा मान्छेका !
(स्रोत : Dainikee.com)