~भुपेन्द्र वीर विक्रम लामा~
बर्सेनि एउटा खहरे
गजबको भेलबाढी उरालेर आउँछ
एउटा सानो पाखे खेत
स्वात्तै बगाएर
अर्कैको बहिखातामा थुपार्छ
रित्तिन्छन् धेरै गोठ अनि खोरहरु
जम्मै बदलिन्छन् किन्चित खोष्टाहरुमा
खोष्टाहरु बदलिन्छन्
बजारका दुकानहरुमा
एकाद बोरा चामल र चिउराहरुमा
दुईचार जोडा लत्ताकपडाहरुमा
दिई छाक मासु र भातहरुमा
अमिलो मनको
केही तोला देखावटी हाँसो मजाकहरुमा
हो,
यो दसैं
प्रत्यक वर्ष यसरी नै
प्रोपोगन्डाहरुको भारी बोकेर आउँछ
क्लान्त निमुखाहरुलाई
गोर्खेलौरी ठोकेर बेस्सरी भकुर्छ
जान्छ त्यो
मुख मिठ्याउँदै
आलो रगतका टाटोहरु चाट्दै
अर्को वर्ष फर्की आउने वाचा गर्दै।
यसरी नै हरेक साल
हिनहिनाउँदै आउँछ र जान्छ
ॠण माथी ॠण थुपार्दै
खहरे जस्तै यो दसैं ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )