~यामु काउचा ‘निश्चल’ मगर~
दशैं आएर गयो ।
अह,
मेरो आमालाई आएन
राउटेहरुलाई आएन
जुम्ला, हुम्लातिर आएन ।
मेरो देश
सुन्यतामा हराएको छ
तन्त्रहीन गणतन्त्र छ ।
कुहिरोमा हराएको,
काकाकुल काग जस्तै,
मेरो देश
अध्यारोमा रुमलिएको छ ।
दोरम्बाका हत्याराहरु
बाँदरमुढेका हत्याराहरु
मैना सुनुवारका हत्याराहरु
खुलेआम घुमिरहेछन ।
लाग्छ ! मेरो देश
दण्डहीन छ ।
हजारौं बेपत्ताका आफन्तहरु !
बाबा फर्कने आशामा
छोरा फर्कने आशामा
छोरी फर्कने आशामा
लोग्ने फर्कने आशामा
आँशु झरिरहने आँखाहरुले
कसरी दशैं मनाउनु ?
रत्नपार्कलाई आएन दशैं
खुलामंचलाई आएन दशैं
गंगबुचोकलाई आएन दशैं
कलंकीलाई आएन दशैं !
कलंकीमा ढालिएका
शहिदका सपनालाई !
आएन दशैं !
आशा गरौ ।
अब आउने दशैं !
भब्य रुपमा आउनेछ
सबैको लागि आउनेछ
नयाँ संबिधान लिएर आउनेछ ।
त्यो दशैंलाई !
सारा नेपालीहरु
स्वागत गर्न तम्तयार छन् ।
यामु काउचा ‘निश्चल’ मगर
चौराहा – १ – बागलुङ
(स्रोत : Hongkongnepali)