हट्टाकट्टा तथा रातापीरा लाहुरेबा हेर्दाहेर्दै सुकेको रुखजस्ता भए । गाउँमा धामीझाँक्री, वैद्य, कम्पाउन्डर आदिले उपचार गर्दा पनि रोग निको नभएकाले उनी काठमाडौं गए ।
– ‘तपाईंलाई टि.वि. रोग लागेको छ ।’
छाती रोग विशेषज्ञले टि.वि.को औषधि चलाए ।
– ‘तपाईंलाई मृगौलाको रोग लागेको छ ।’
मृगौला विशेषज्ञले एक झोला औषधि सिफारिस गरे ।
– ‘तपाईंको हड्डी खिइएको छ ।’
हाडजोर्नी विशेषज्ञले दिएको औषधिले उनको पेटमा ज्वालामुखी विस्फोट भयो ।
– ‘तपाईंलाई अल्सर भएको छ ।’
पेटरोग विशेषज्ञले जाँचेपछि पानाभरि औषधि लेखिदिए ।
– ‘तपाईंलाई घाँटीको रोग लागेको छ ।’
नाककानघाँटी रोग विशेषज्ञले अर्को एक झोला औषधि सिफारिस गरे ।
– ‘तपाईंलाई क्यान्सर लागेको हुन सक्छ ।’
क्यान्सर रोग विशेषज्ञले वायस्पी गर्न मासुको कण झिके ।
– ‘तपाईंलाई मुटुको रोग लागेको छ ।‘
मुटुरोग विशेषज्ञले आजीवन जाँचपडताल तथा औषधि सेवन गर्नुपर्ने बताए ।
– ‘तपाईंलाई डिप्रेसन भएको छ ।’
मानसिक रोग विशेषज्ञले लेखिदिएको औषधिले उनी दिनभरि झुम्म परे ।
– ‘तपाईंको अप्रेसन गर्नुपर्छ अनि मात्र रोगको जरो पत्ता लाग्छ ।’
सर्जनले अप्रेसनको डेट दिए ।
लाहुरेबा सिकिस्त भए । उनलाई बीसको उन्नाईस भएन । बदलामा बीसको चालीस भयो । उनको अवस्था दिन प्रतिदिन नाजुक हुँदै गयो । परिवार तथा आफन्तहरुले आशा मारे ।
जेठो छोराले गहभरि आँसु पारेर सोध्यो – ‘बा ! हजुरको अन्तिम धोको के छ ?’
– ‘खै बाबु कसैले डिप्रेसन छ भन्छन्, कसैले अप्रेसन गर्नुपर्छ भन्छन्, अरु पनि केके हो केके भन्छन् । मर्नुभन्दा पहिले आफूलाई लागेको रोग थाहा पाउने धोको छ बाबु !’
(स्रोत : रचनाकारको लघुकथा संग्रह “अणु र पहाड”बाट सभार )