दशैं गयो, तिहार आयो
छोरोले दशैं कसरि मनायो ?
के खायो के गर्यो होला?
कठै एक्लै पर्यो होला?
भन्ने कत्ति नठान्नु आमा
पिर सुर्ता नमान्नु आमा
घरबाट टाढै सहि
म ऐले जहाँ छु त्यहि
एउटा सानो नेपाल पाँए
आमा! मैले दशैं मनाएँ
हो आमा!
गाउँमा जस्तै रमाइलो गरि लट्टे पिंग गाडिएन यहाँ
सुका बाजी थापेर चउरमा लंगुर बुर्जा खेलिएन यहाँ
न निधारभरी अक्षता टोपीभरि जमरा लगाएर गाउँ चाहारियो
न दक्षिणाको धाक लडाइयो, न नयाँ कपडाको शान झारियो
तर घरको न्यास्रो मेटाउनकै लागि सहि
म ऐले जहाँ छु त्यही
एक दिन कामबाट छुट्टि पाएँ
जानी नजानी सेलरोटी घुमाएँ
अरु संगै म नि रमाएँ
आमा! मैले दशैं मनाएं
मलाइ अफशोच छ आमा!
यसपल्ट म त्यहाँ आउनै पर्ने थियो
हजुरआमाको चौरासीमा म त्यहां हुनै पर्ने थियो
तर के गर्नु आमा?
मिलाउन मैले नखोजेको होइन
कलेजमा अहिलै परिक्षा पर्यो
कामबाट लामो छुट्टि पाइन
मन अमिलो भो, छाति हुँडलियो
मुटु निचोरियो, आँशु झर्यो
तर आँशु पिउने होइन,
हाँसी हाँसी जिउनु पर्छ
भन्ने हजुरको अर्ति संझे
आफैले गरेको प्रगति संझे
म जस्तै दुइ चार साथि भेट्टाएँ
जमरा उमारें, अक्षता भिजाएं
टिका लगाइदिएँ, आफुले लगाएँ
आमा! मैले दशैं मनाएँ
आमा! एकपल्ट सोंच्नुस् त
दशैं त हामि सधैं मनाउँछौं
“देश” कहिल्यै मनाउन पाइएन
हामि रमाएर मात्र के भो र आमा?
देश हाम्रो कहिल्यै रमाएन
आमा! आज दशैंको मुखमा
चामल नपाउने कत्ति होलान् ?
लाज छोप्न नपाएर केहिले
नांगै बस्ने कत्ति होलान?
ती भोकै नांगै बस्नेहरुलाई
के को दशैं? के को तिहार?
हामीलाई भने हर्ष बढाइँ
उनीहरुलाई खै के त उपहार?
यहाँ बेग्लै छ आमा!
आमा! यहाँ देश मनाउँछन्
सबै मिलि देश बनाउँछन्
हत्ते हाल्छन्, मरी मेट्छन्
टुक्रिन दिन्नन्, देश जोडाउँछन्
न कोहि भोका, न कोहि नांगा
न कोहि देख्छु अन्धा अपांग
सबै धनि सबै सम्पन्न
सबै खुसि सबै प्रसन्न
हामि यस्तो कैले हुने?
हाम्रो मैलो के ले धुने?
आमा! अब दशैंको साटो
आघौँदेखि देश मनाउँ
आमा, हजुरको आज्ञा पाउँ
देश मनाउन घर कैले आउँ?
(स्रोत : Dinesh Gyawali’s Blog)