~अस्मिता बर्मा~
किन–किन पुष्पा दिदी मलाई मन पराउनुहुन्न।
उहाँ अत्यन्त भलाद्मी देखिनुहुन्छ। रूपरङ र बोली पनि मिठो छ। जब उहाँ क्याम्पस छिर्नुहुन्छ, अघिपछि दर्जन केटी देखिन थाल्छन्।
– ‘पुष्पा दिदी, स्ववियुले हामीलाई कहिले पिकनिक लान्छ?’
– ‘बास्केटबलको म्याच गरौं न।’
– ‘मास्टर्सको लागि रिसर्च राइटिङ क्लास गरौं न।’
मलाई पनि उहाँसामु केही कुरा राखूँ भन्ने लाग्छ। तर खोई किन उहाँले मलाई मन पराउनुहुन्न। के उहाँलाई सबै कुरा सेयर गर्नु नै मेरो गल्ती थियो?
हामी एउटै विचारधाराका भएकाले सोचेकी थिए, सम्बन्ध राम्रो हुन्छ। भइदियो उल्टो। उहाँ मेरो विरोधमा पो जान थाल्नुभयो।
म राम्रो शैक्षिक वातावरण होस् भन्ने चाहन्छु। साथीहरू पनि मलाई कति माया गर्छन्। पुष्पा दिदी उपेक्षा गर्नुहुन्छ। म यति सानो कुराबाट विचलित हुन चाहन्नँ। क्याम्पसको चमेना गृहमा ‘दुइटा उसिनेको अन्डा’ को अर्डर दिएर गजधम्म बस्ने दिदीको उपेक्षाले म कहाँ विचलित हूँला! पक्कै विचलित छैन।
अविचलित म कलेजको रौनक हेर्दैछु। नयाँ अनुहारले विद्यार्थी लालायित बनाउन थालेका छन्। क्याम्पसमा गाईजात्रा नै लाग्न थालिसकेझैं। अन्यमनस्क म त्यो हुलमा हराउने तरखरमा थिएँ, एउटीले झ्याप्पै समाती अनि छेउमा लगेर कागजपत्र देखाउन थाली। प्रोजेक्ट वर्क रे तिनीहरूको। मसँग बायोब्रिकेटसम्बन्धी प्रश्न तयार गर्न सहयोग पो मागी। मैले आफूले जानेका कुरा सेयर गरिदिएँ। म सबैलाई मद्दत गर्न तयार छु, तर क्याम्पसमा सबै आ–आफ्नै पाराका छन्।
कोही निकै कम बोल्छन् भने कोही फतरफतर गर्छन्। कोही घरपरिवारका कुरा गर्छन्, कोही केटा साथीका र यौनका कुरा पनि गर्छन्। पढाइका कुरा भने निकै कम।
क्याम्पसमा यसरी नयाँ अनुहारको भीड लाग्नुपछाडि अरू केही होइन, स्ववियु चुनाव नजिकिँदो थियो।
सबैको आँखामा म उत्साह र जाँगर देखिरहेको छु। सभापतिको दाबी गर्दै हिँड्ने समूह पनि छन्। आफ्नो लेभलअनुसार दाबी गर्न नपाउने भए हामी किन प्रजातान्त्रिक! लौ, प्रजातन्त्र भनेको यही सभापति हुनुमात्र हो?
‘ए दाइ! दुइटा ब्वाइल्ड एग,’ पुष्पा दिदीले अर्डर गर्नुभयो। अनि दुइटा अन्डा दुई हातको लड्डुझैं गरी समात्नुभयो। ठ्याक्कै मेरोविपरीत रहेको कुर्सीमा बस्नुभयो। तर बोल्नुभएन। म किन बोल्ने?
म मनमनै हाँसे। केही हाँसो बाहिर ओठमा पनि देखिएको हुनुपर्छ। पुष्पा दिदीले फेरि बोलाउनुभयो। जान मन नहुँदा–नहुँदै गएँ। अह्राउनुभयो, ‘नानी तिमी छत्तीस नम्बरको कोठामा गएर साथीहरूलाई प्रोफाइल सार्न हेल्प गर।’
के हो यो प्रोफाइल सार्ने भनेको? मैले नोट,टेबुल, डेस्क सार्ने त सुनेकी छु। यो प्रोफाइल सार्ने भनेको चाहिँ के होला?
‘तिम्रो घरमा खुकुरी छ होला नि?’
‘आब्बुई! किन र?’ सोध्न लागेकी थिएँ। दिदीले फेरि भन्नुभयो, ‘भोलि छ नि नोमिनेसन। स्ववियुको।’
म छक्क परेँ। दिदीले एक पोका प्लास्टिक मेरो हातमा थमाइदिनुभयो, ‘यसमा चुरोट र गुट्खा छन्। माथि चालिस नम्बरको हो। साइन्सको कोठामा घाइतेहरू छन्। उनीहरूलाई दिनू।’
ओहो! यति धेरै काम। प्रोफाइल सार्ने, खुकुरी ल्याउने, गुट्खा र चुरोट लैजाने। कतैबाट ह्वास्स चुरोटको गन्ध नाकमा छिर्योा। गन्ध त चालिस नम्बरकै कोठाभित्रबाट आइरहेको रहेछ। यसो हेर्छु। कोठाभित्र धुवाँका अमूर्त चित्रहरू बन्दैछन्। अनि भित्रबाट आवाज आइरहेको छ, ‘यो चुनाव हाम्रो पक्षमा आयो भने पूरा ड्रिंक्सको खोलो बगाउनुपर्छ। कहाँ चुरोट, सिगार खाने हो? लक्जरियस वे–बाट जिउने हो।’
म थकित हुँदै चालिस नं कोठामा छिरेँ। आन्दोलनबाट घाइते भएका करिब २०/२५ जना धुवाँको अमूर्त चित्र बनाउँदै होम साइन्स पढिरहेछन्। मैले आफूसँग भएको पोको तिनैमध्ये एकलाई थमाइदिएँ।
मेरो त अझ धेरै काम बाँकी थियो– प्रोफाइल सार्ने, छत्तीस नम्बरको कोठामा पुग्ने– केके हो केके।
दिदीसँग फेरि जम्काभेट भयो। उहाँ अहिले अलि निराश देखिनुभएको छ। मलाई फ्याट्टै भन्नुभयो, ‘हेर् तँ मेरो लिस्टमा छेस्। अब क्याम्पसमा राम्रो काम गर्।’
दिदीलाई ‘धन्यवाद’ भन्ने फुर्सद पनि थिएन। दिदी आजसम्मको कमिटिमा हुनुहुन्छ। भोलिबाट नयाँ अनुहारले संघर्ष गर्नेछन्। भर्ना फारामबाट नाम, जिल्ला र फोन नम्बर टिप्दै थिएँ, हतार–हतार। यसैलाई भनिँदो रहेछ प्रोफाइल सार्ने। कर्मचारी कराँउदै थिए, ‘छ बजिसक्यो। छिट्टै सक्नुहोस्।’
भोलि बिहान पाँच बने नै क्याम्पस पुग्ने भनेर सबैलाई अवगत गराइसकिएको थियो। आ–आफ्नो जिम्मेवारी दिइसकिएको थियो। सबै समयमै पुगेकै हुन्। आफ्नो जिम्मेवारी पूरा गर्दै सबै नेता र केटीहरू सोझै लेडिज क्याम्पस पुगे।
अचानक कतैबाट समाचार आयो, ‘विद्यार्थी संगठनले रातारात करोडौं रकमको चलखेल गरी राति बाह्र बजेसम्म पनि नक्कली विद्यार्थी भर्ना गरेका कारण विश्वविद्यालयले स्ववियु निर्वाचन नगर्ने निर्णय गरेको छ।’
हिजोसम्म निराश पुष्पा दिदी आज उज्याली देखेँ। रहस्य बल्ल पत्ता लाग्यो। दिदीको अनुहार खुसी भए तापनि लेडिज क्याम्पसमा एउटा निराशाको लहरचाहिँ छाउँदै गयो। अर्को वर्ष निर्वाचन हुने भन्ने झिनो आशा बोकेर नेता र केटीहरू सबैले लामो सास फेरे।
मुखभरिको थुक भुइँमा पिच्च पारेँ। थुक हेर्दाहेर्दै एउटा साँघुरो कुलो बन्न थाल्यो। कुलोमा बगिरहेको थुकमाथि सेता कीरा सल्बलाउन थाले। तिनै कीरालाई छोपेका थिए, हजार–हजार नोटका चाङहरूले।
(स्रोत : NagarikNews)