~हिमाल घिमिरे~
पहिलो प्रेमपत्र
प्रिय पूर्वप्रेमिका सुसाना !
पहिल्यै आत्म स्वीकृति— मैले तिमीलाई बिर्सिनु पर्थ्यो/पर्छ । तर त्यसो हुन सकेको छैन । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ । तिमीलाई भुल्नु पनि आगोजस्तै लाग्छ । तिमीलाई सम्झिराख्नु पनि आगोजस्तै लाग्छ । हेरौँ आँसुले कहिलेसम्म जोगाउँछन् मलाई !
शान्त पोखरीमा गिट्टी फालिरहेको छु । अवश्यै तरङ्ग उठेको छ । यो पत्र पढेर तिमी तरङ्गीत छौ । मलाई यो कुरामा विश्वास छ— शान्तिपना टुट्नु एकदम नकाइदा हो । तिमीलाई पक्कै पनि विरसिलो लागेको हुनुपर्छ । वास्तवमा म यही थाहा दिन चाहान्छु कि तिमीले छोडी गएपछि म एक्लो छैन । तिम्रा यादहरू छन् । एकदम आदिम सम्झनाहरू छन् । हो, यति नै पनि पुग्दो छ तिमीभित्र बेचैनी रोपिदिन । तर म उसै-त्यसै किन छोड्थेँ र तिमीलाई !
(तिमीले छोडेको सात दिनपछिको डायरीबाट)
प्रिय सुसाना !
आजकाल म कामिनासितै छु । यो कुरा वास्तवमा तिमीलाई विश्वासै लाग्दैन । अविश्वासनीय र अकल्पनीयको संयोग हो रहेछ जिन्दगी । तिमी मेरी पहिली थियौ । पहिली थियौ यो हृदय छोई पठाउने । मलाई स्त्री र पुरूषको भिन्नता बुझाउने । वास्तवमा तिमी त मेरी बाल्यावस्थाबाटै साथी थियौ । मेरा निक्कै अनुभवहरू तिमीसित साझेदार छन् । मैले उनै कुराहरू फेरि गर्दा तिमीलाई सम्झेको छु । र, यो कुरा मैले कामिनासित भन्नु उचित ठानेको छैन । ऊ मलाई असाध्यै प्रेम गर्छे जस्तो म तिम्रो प्रेममा बौलाउँछु । तर पनि ऊ र मबिच केही दूरी अवश्यै छ । त्यो हो तिम्रो याद । म कामिनासित रात बिताउँछु । खै के—के गरेर बित्छ रात पनि ! तर तिमीलाई आरोपित उसमा गरेरै बित्छ । साँच्चै जब हामी साथै रात कटाउने गर्थ्यौं त मलाई उज्यालो चाहिन्थ्यो । तिम्रो मादक यौवनलाई आँखाहरूले पिई बस्थे । तर कामिना प्रति मलाई उस्तो सोच छैन । अँध्यारोमा पक्कै पनि निक्कै कुराहरू हुन्छन् नै । तर म तिमीलाई पाउँछु कामिनामा/अँध्यारोमा ।
(तिमीसित नभेटको छ महिना पछिको डायरीबाट)
प्रिय !
वास्तवमा तिमीलाई यो चिठ्ठी लेख्नु हुँदैन थियो । शायद अब तिमी मसित आउने छैनौ । म यो समयमा नितान्त एक्लो छु । किनकी कामिनासित पनि छुटेको अब धेरै दिन भयो । तिमीले छोडी गएको बेला झैँ दुःखी छु । कोहि भेट्नु अघिको एक्लोपना र छुटिएपछिको एक्लोपना धेरै विसंगत कुरा हुन् । अन्त्यमा यही आशा गर्छु कि तिमी अब पहिलेजस्ती घमण्डी र जिद्दी छैनौ ।
प्रेमको पोखरीमा गिट्टी फाल्ने मान्छे — हिमाल !
(कामिनासित छुटेको एक महिना पछिको डायरीबाट)
दोस्रो प्रेमपत्र
प्रिय !
अकल्पनीय भयो । मेरो पहिलो पत्र पढेर पनि तिमी आयौ । मलाई अनौठो खुशी लाग्यो/लागेको छ । तिमी नछुट्ने मान्छे पर थियौ । त्यसैले त तिमीलाई त्यो चिठ्ठी लेखेँ नि । तिमी फर्किँदा मलाई तिमीले परिपक्क भएको आभास गरायौ । मैले तिम्रो खानदानी घमण्डीपना हराएकोमा निक्कै चासो राखेको तिमीलाई थाहै छ । र, जवाफमा फिस्स हाँसेकी मैले भुलेको छैन ।
(प्रत्यागमनको पहिलो रातको डायरीबाट)
प्रिय सुसाना !
समय गोलो संसारमा गोलो घेरा गरेर घुम्छ । तिमी मलाई धेरै प्रेम गछ्र्यौ । पहिले भन्दा पनि निक्कै । साथै तिमीले जन्मजात घमण्डलाई ऐँजेरू झैँ हुर्काउँदै छ्यौ । मलाई अनौठो लाग्छ— कोहि कसरी प्रेमी र जिद्दी एकै फेरा बन्न सक्छ ! तिमीलाई बारम्बार मैले विश्वास गरेको छु । र, म आफैँलाई सधैँभरि धोखा दिएको छु ।
(पुनारावृत्तिले पीडित रातको डायरीबाट)
प्रिय पूर्वप्रेमिका सुसाना !
पहिल्यै आत्मा स्वीकृति— मैले तिमीलाई बिर्सिनु पर्थ्यो/पर्छ । तर त्यसो हुन सकेको छैन । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ । तिमीलाई भुल्नु पनि आगो जस्तै लाग्छ । तिमीलाई सम्झिराख्नु पनि आगो जस्तै लाग्छ । हेरौँ आँसुले कहिलेसम्म जोगाउँछन् मलाई !
मलाई थाहा छ— अब पूर्व श्रृङ्खलाको पुनरावृत्ति हुने छैन । यसको मूल्य तिम्रो रूवाई हुनेछ । र, त्यो रूवाई गोहीको होईन । तिमी साँच्चै रूने छ्यौ । वास्तवमा म जस्तै एक्लै हुने छ्यौ । धेरै त के लेख्नु ! यति छोटो प्रेमपत्र नै पुग्दो छ तिमीलाई जल्न/जलाईदिन । अब तिम्रै इच्छा कि यो पत्र जलाऊ कि आफैलाई जलाऊ ग्लानीको भुङग्रोमा । म त आजकाल त्यस्तै गर्छु । यादको पञ्चअग्नी तापेर बस्छु । नरोऊ/नरोऊ/नरोऊ सुसाना !
प्रेमको सागरमा पौडी खेल्ने मान्छे— हिमाल !
(अन्त्यपछिको शुरूवाती दिनको डायरीबाट)
(स्रोत : Hulaki)