सरकार
म मर्न चाहन्छु
मलाई इच्छामृत्युको अधिकार देउ ।
पहिले खुँडा खुकुरी बोकी हिड्थे
धनुकाँड चलाउँथे
आफ्नो सुरक्षा आफै गर्थे
तिमी आयौं र भन्यौं
नबोक खुडा खुकुरी
तिम्रो धनुकाँड मलाई देउ
बदलामा
म तिमीलाई जीवन दिन्छु
स्वतन्त्रता र सुरक्षा दिन्छु
तिमी बाँच अनन्तसम्म
तर सरकार
म हरेक दिन मरेर बाँचिरहेछु
हरेक क्षण मलाई मारिरहेछन्
बाँच्न सकिरहेको छैन
म पूर्ण मर्न चाहन्छु
मलाई मर्ने अधिकार देउ ।
सरकार
तिमी मन्त्रि बनाउँछौ
उनीहरु आफ्नोलागि घर बनाउँछन्
युवा भर्ती गर्छन् र फौज बनाउँछन्
प्रशासन भन्छौ, अधिकारी बनाउँछौ तिमी
उनीहरु सङ्गठन बनाउँछन ।
सायद तिमीले भूल्यौ
भोट हालेर तिमीलाई
आफ्नो अभिभावक बनाए
आफै माथि शासन गर्न भने
तिमीले जिम्मामा कसैलाई पठायौ
उनीहरु ममाथि हिंसा गरिरहेछन
तिमी नदेखेरै बस्छौ
सरकार, म अनाथ भए ।
अस्पताल जान्छु
डाक्टरहरु अधिकार माग्दै बन्द गर्दछन्
म उपचार नपाएरै मर्छु ।
सवारीमा सवार हुन्छु
कण्डक्टरहरु धम्काउँदै असुलेर जान्छन् ।
खाना, पानि, सफाइ सबै जिम्मा लिनेहरु
मलाई धनु प्रहार गरिगरि मारिरहेछन्
उनीहरु म मरेको हेर्न चाहन्छन ।
देख्छु
वकिलहरु, न्यायधिशहरु, पुलिस र प्रशासकहरु
मेरै इज्जतको नारा लगाउने राजनीतिक दलहरु
आफ्नै मादल बजाउँछन, गुनगान गाउँछन्
बन्द गर्दछन्, धम्काउँछन्
मेरै करेसाबारीमा मलाई जान दिदैनन
म भोको छु
म भोकले आधा मरिसकेको छु ।
लाग्छ
समुह खोलुँ, हतियार चलाउँ
लुटौ र आफ्नो जीवन बचाउँ
पहिलाकै धनु फेरि बनाऔ
तर
म बाचा तोड्न सक्तिन
धोका दिन जानेको छैन
म जनता हुँ
झुटो बोल्नु, धोका दिनुभन्दा
मृत्यू प्रिय लाग्छ
सरकार
म तिमीलेजस्तो बाचा तेड्न सक्तिन
त्यसैले मर्न चाहन्छु
मलाइ मर्ने अधिकार देउ ।
(स्रोत : Dreamlandnepal)