इतिहासको गर्भबाट ब्यूझेर
बस्न्याती जुँगामा ताउ लाउँदै
धित मरुन्जेल
फेरि एकपल्ट
जङ्गबहादुरको मृतात्मा हाँस्यो ।
धरोधर्म तिम्रो म्यानभित्रको तरवारमा
खिया लागेको छैन रहेछ
तिम्रो घोडाका टापहरु
अझ टड्कारा भएका छन
तिम्रो कुन मन्त्र शक्तिले हो
तलेजु भवानीको मन्दिर वरिपरि
विधवा आइमाइ
वर्तमान सराप्दै हिड्छे
भन्ज्याङ्ग भित्र घरीघरी
सपनाको सौदा गर्न
शासन र सत्ताको तन्ना फेरिन्छ ।
हिउँमा कुल्चेको डोबजस्तो
सपना त सधै सपना मात्र रहन्छ
हाँस्ने पालो त हामी सबैको हो
तर तर
सधै-सधै जङ्गबहादुर
तिमी मात्र किन हाँस्छौ ह ?
(स्रोत : Kabitaharu )