सपनाका फूलहरु फुलेर
मन
बादल बिहिन
सहस्र तारा जगमगाएका
रात झै भएथ्यो होला
नौ मास सम्म नै
हजारौं हजार
सपनाका फूलहरु
हरेक दिन फुले होलान्
पवित्र यज्ञ फलिभूत हुँदा
रजपिण्डले सास फेर्न पायो
स्थिती र अवस्था बदलिएर
तिमी केवल जनबाट
जननी बन्यौ
आमा !
तिम्रो पिण्ड छातीमा टाँसिदा
अझै धड्कन एकाकार हुन खोज्छ
पहिले झैं, सदा सदा
तिम्रो अबोधता कति दर्शनिय
केवल सप्कोलाई
रक्षाकवच बनाउने झिनो चेष्टा
अबसन्तको फूलको
वात्सल्य घट
नौधारा चुहाउँदै
बूँद बूँदमा अमृत
मेरो मुखमा पोखिदिएर
भोक मेटायौ प्यास मेटायौ
मेरो सन्तुष्टिमा
अहोः ! त्यो तिम्रो दिव्य तृप्ती
अधर, अनुहार र स्थितीभरि छल्कदा
दैदिप्यमान देवी देखियौ
आमा !
निर्दोष आँखाले बेह्रेर
सुनौला कामनाहरु
काखमा खेलाउँथ्यौ
मेरा विकारहरु
कहिल्यै तगारो बनेनन्
अनगिन्ती म्वाईका लागि
आँखामा सोम-शितलता भर्दै
मेरो मुखमण्डलमको कुनै कुनामा बनाईएको
गाजलको कालो बिन्दु निहार्दा
तिम्रा आँखाका पुतली
प्रगाढ काला हुन्थे
मनको अतल गहिराईबाट
उवाई उवाई म्वाइ पोख्थ्यौ
मेरो एक रुवाईमा
किलकिञ्चित अनुहार
हत्पतिएका हातहरु
तरलता भरिएका आँखा
आँसु पुच्छ्दा भिजेका सप्कोमा
कस्तुरी केशरको सुगन्ध पाउँथ्यौ क्यारे
यसैलाई देहभरि लिप्दै
बिभोर भएर आँखा चिम्लन्थ्यौ
आमा !
वरद म भएँ
या
वरदान तिमी पाए
तिम्रो कर्म नैवेध
तिम्रो वात्सल्य पुजा
तिम्रो स्नेहशील नयन दियो
आमा !
म सँधै तिम्रो यज्ञ भए
यश पताकाको डण्ड भए
सर्वस्वः भए
सर्वस्वः रहे ||
August 5, 2012
(स्रोत : SamaShree’s Blog )