एउटा पहल तपाइँ गर्नुहोस,
एउटा म गर्नेछु ।
एउटा कोसीस तपाइँ गर्नुहोस,
एउटा म गर्नेछु ।
एउटै सोचले संसार बदल्न सक्छ यदि भने,
केही तपाइँ सोच्नुहोस, केही म सोच्नेछु ।
कायरता तपाइँको ठेक्का भो,
साहस मेरो ।
उल्लास तपाइँको भागमा पर्यो,
हतास मेरो ।
वेदना तपाइँ फुटाउनुहोस, खुसी म छर्नेछु,
सुवास तपाइँ छर्नुहोस, गन्धगी म चिर्नेछु ।
भरोसा,
हो भरोसामै अडेको छ संसार पनि
विश्वासको वातावरण,
अलिकति तपाइँ बनाउनुहोस, अलिकति म थप्नेछु ।
विखण्डन र खण्डनको ढोँगी प्रभुत्व छ यो मानव जाल,
मेल र वेमेलको पौँठाजोरी चल्छ ज्यादा ।
पिडा, रोदन,
हाँसो अनि स्पन्दन ।
मनहरुका असिम आकांक्षाहरु यत्तिकै थन्किरहेछन् दैनन्दिन ।
टाँस्नुहोस अलिकति तपाइँ ति धाँजाहरुलाई,
अलिकति मल्हम थोपार्नेछु म घाउमा ।
सस्नेह सुम्सुम्याउनुहोस रन्थनीएका मुटुहरुलाई,
अलिकति म प्यार दिनेछु ।
हो,
एउटै पहलले कैयन आत्माहरु एकसाथ मुस्कुराउन सक्छन् यदि भने,
केही पहल तपाइँ गर्नुहोस , केही म गर्नेछु ।
एउटै सोचले संसार बदल्न सक्छ यदि भने,
केही तपाइँ सोच्नुहोस, केही म सोच्नेछु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘मा कान्तिपुर लिपीमा पठाईएको । )