आंधीजस्तै बेगवान खोलालाई एउटा व्यापारीले झोलामा राखेर शहर पस्यो । खोलाले गाउँ देखेको थियो, हरिया पहाड देखेको थियो, नीलो आकास देखेको थियो, स्फटिक बालुवा देखेको थियो अनि प्रकृतिसंग मितेरी लगाएर बसेका मान्छेहरु देखेको थियो । मान्छे मात्र हैन, बिभिन्न पशुपंक्षी तथा आफूभित्र खेलिरहेका माछा, कछुवा अनि चेपेगाँडा पनि देखेको थियो ।
यसपटक खोलाले सहर देख्यो । सहर मात्र देखेन । कंक्रिटको जंगल देख्यो, निष्प्राण पशुपंक्षी अर्थात गाडी र जहाज देख्यो । धुलो र धुँवाले मैलिएको आकास देख्यो । शब्द, स्पर्श, रुप, रस र गन्ध गायव भएका आवाज, आकृति र मनहरु स्पर्श गर्यो ।
खोलालाई बालबालिका खुब मन पर्थ्यो ।
खोला शिक्षक बनेर कक्षा कोठामा प्रवेश गर्यो । उसले बिध्याथिर्थरुलाई सोध्यो – तिमीहरुलाई खोला थाहा छ ?
“ थाहा छ ! “ दर्जनौं सुरिला आवाजहरुको मिश्रणबाट बनेको इन्द्रेणी ध्वनिले खोलालाई टुनामुना लगायो ।
“ खोलामा के हुन्छ ? “ उसको जिज्ञासामा प्रत्येक आवाजलाई अर्को आवाजले ओभरटेक गर्दै बच्चाहरुले भने –
“ खोलामा किरा हुन्छन ! “
“ खोलामा प्लास्टिक हुन्छ ! “
“ खोलामा लेदो हुन्छ ! “
“ खोलामा ढल मिसिएको हुन्छ ! “
“ खोलामा फ्याँकिएका दाल, भात, तरकारी र हड्डी हुन्छन ! “
“ खोलामा गन्ध हुन्छ ! “
“ खोलामा फोहोर हुन्छ ! “
…………………………………
खोलालाई निकै रमाइलो लाग्यो । खोलालाई निकै नरमाइलो लाग्यो ।
खोलाले पून सोध्यो – “ खोलालाई कसरि सफा गर्ने ? “
महँगो बिद्यालयमा अंग्रेजी भाषामा गुणस्तरीय शिक्षा पाएका विध्यार्थीहरु कोहि भन्दा कोहि कम थिएनन । उनीहरुले तँछाडमछाड गर्दै जवाफ दिए –
“ बोडी स्प्रे छर्केर ! “
“ सेम्फु र साबुनले धोएर ! “
“ ड्राइ क्लिनरमा दिएर ! “
“ वासिंग मेसिनले धोएर ! “
“ भ्याकुम क्लिनरले सफा गरेर ! “
(स्रोत : मधुपर्क लघुकथा विशेषांकमा प्रकाशित )