~धनप्रसाद सुवेदी ‘श्रमिक’~
जब शासक अन्धो भै क्रूरता लाद्न थाल्दछ
कालो साँप सरी बन्दै दुनियाँ डस्न थाल्दछ
अँध्यारो रातले ढाक्छ धर्ती निष्पट्ट बन्दछ
त्यै बेला प्राणको राँको झोस्ने शहीद बन्दछ ।
जो मरेर पनि बाँच्छ दुनियाँ ऊ बचाउँछ
त्यही सपूत धर्तीको प्यारो शहीद नाउँ छ ।
हाम्रो देश रहेको छ उही शहीद भै दिंदा
हामी उभिन सक्या छौ उही अडिग भै दिंदा ।
रातो रगत उसैको हाम्रो गुराँस हाँस्दछन्
बाँकी उत्साह उसैको हाम्रा उमड्ड नाँच्दछन् ।
गाउँछन् कोइली गीत उसकै स्वतन्त्र प्रेमले
लाउँछन् चन्द्रमा प्रीत उसकै सौन्दर्य प्रेमले ।
ऊ भएरै त हामी छौं उज्यालो देख्न पाउँछौं
उही प्रेरक भैदिंदा हामी उन्मुक्त लेख्दछौं ।
लड्छ ऊ अरूकै निम्ति के दिनु लिन्छ के र ऊ ?
भन्छ ऊ जाति र राष्ट्रको सधैं रक्षक भै रछ ।
“नमिल्दा ढल्न लागेका थोत्रा संरचना सबै
ध्वस्त पारी नयाँ राम्रो बिरुवा रोप्नुपर्छ है”
यही मन्त्र जपी यौटै यही बाटो हिंडे यहाँ
सच्चा श्रद्धाञ्जलि होला हाम्रा शहीद पाउमा ।
(शहीद दिवस २०५७)
नेर्पा– ९, खोटाङ
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )