निबन्ध : मान्छे र कला

~विष्णु प्रभात~Bishnu Prabhat

बाँचेको मान्छेले नै विचार गर्छ । कुरा साँचो हो र सजिलो पनि छ । आखिर मान्छे बाँचेका बेलामा न मान्छे हो । मरेपछि त ऊ लास बन्दछ । सासबिनाको लास भएपछि आस पनि गरिंदैन । त्यसैले मरेको मान्छे जतिसुकै बौद्धिक भए पनि चेतनाहीन हुन्छ । उसले कुनै विचार गर्न सक्दैन । उसको गतिशीलता समाप्त भएको हुन्छ । जीवनको अन्तिम र बाध्यात्मक विकल्प हो – मृत्यु । जीवन स्वेच्छिक विकल्पमा रमाउँछ तर उमड्डहीन हुन्छन् हरेक मृत्युहरू । विचार मृत्युअघि नै निर्माण भएको हुन्छ मृत्युपछि रहने त्यसको लेख्य रूप बाँचेका बेलाको चिन्तन हो । त्यसैले विचार वस्तुनिष्ठ हुन्छ । परम विचारको भ्रान्तिमा अलमलिनु आवश्यक छैन । वस्तुनिष्ठताको तात्पर्य हो – भौतिकता । भौतिकबिनाको बौद्धिकता बकवास मात्र हो । भ्रान्तिको भुँवरी हो । भुँवरीमा फँसेको वस्तु एकै ठाउँमा रिँगिरहन्छ, अलमलमा घुमिरहेको हुन्छ । भ्रान्तिचेतना पनि त्यस्तै वस्तु हो– जो एकै विन्दुमा घुमिरहन्छ । घरी डुब्छ घरी उत्रन्छ तर जहाँको तहीँ । तर्क र तथ्यको कुनै आवाज त्यस खालका मस्तिष्कमा घुस्दैन । यथार्थ जे छ त्यो मानिसले जान्न बुझ्न सकिने हुन्छ । जे छैन त्यसको खोजी गर्न त सकिन्छ, तर पाउन असंभव हुन्छ । प्रकृतिसँग जुधेर सिकेको अनुभव ज्ञानको खरही बनेर थुप्रिन्छ । किसानकोे धानको खरही चाँगे जस्तै त्यो विविध पत्रमा थुप्रिंदै चुलिन्छ । अभ्यास, अनुगमन र आधुनिकीकरणको प्रक्रियाबाट ज्ञानको पूर्व पीठिका बदलिन्छ । नयाँ नयाँ अध्यायहरू थपिन्छन् र प्रकृतिसँगको लामो युद्धमा मानवचेतनाले विजय हासिल गर्दै जान्छ ।

मान्छेको चेतना जैविक शक्ति हो । मान्छे स्वयं भौतिक छ, बौद्धिकता उसको अनुभव हो, जो लौकिकतामा अडिएको हुन्छ । तर कतिपय आर्जन बौद्धिक पनि हुन्छ । बौद्धिकता चिद्को ज्योति होइन । मानिस र उसको सम्पूर्ण सोच भौतिक सारमा खडा छ । आकृतिबिनाको अमूर्तकला पनि मूर्त अस्तित्वमा नै अडिएको हुन्छ । वायुमण्डल अमूर्त छ भन्न सकिएला, तर त्यो पनि– भूमण्डलको निश्चित परिधिमा आकृतिबद्ध बनेको छ । प्रकृतिको यो कला मानवीय दृष्टिसामु त्यतिन्जेल अव्यक्त बन्दछ जबसम्म उसँग एउटा सुस्पष्ट दृष्टिकोण हुँदैन । विवेकपूर्ण निक्र्योल हुँदैन । प्रकृति र जीवन, जैविकता र अजैबिकताको श्रृंखलामा गतिशील छ । जीवन र जड अतुलनीय छन्, तर जीवन र प्रकृति तुलनीय रहन्छन् । प्रकृति र जीवन, जीवन र समाज, समाज र सामाजिक सम्बन्धको समुच्चयका रूपमा मानवसम्बन्ध हुर्केको छ । मानवसम्बन्ध कालक्रमिक छ । कुनै कालखण्डमा प्रचलित मानवसम्बन्ध, नैतिक विधि–व्यवहार कुनै अर्को कालखण्डमा नमिल्ने पनि हुन पुग्दछन् । एक कालखण्डको चलनचल्ती, सोचाइ, संस्कार र सदाचारले अर्को कालखण्डलाई प्रभाव पार्न त सक्दछन् तर हर्दम डो-याउने क्षमता भने राख्दैनन् । यही सम्बन्ध ठम्याउने गुण जैविक शक्ति हो, जो सचेत संवेदनाका रूपमा रहन्छ । हुन त प्रकृतिका केही वनस्पतिमा पनि यस्तो गुण पाइन्छ, तर त्यसलाई मानवीय संवेदनासँग दाँज्न विल्कुलै सकिंदैन ।

मान्छेसँग कला हुन्छ । कलाको सामाजिक मूल्य हुन्छ । कला र समाजको सम्बन्धमा मान्छेले आफ्नो युगको संस्कार निर्माण गर्छ । कला प्रकृतिमा पनि हुन्छ, तर त्यो मान्छेको चेतन संवेदनामार्फत् मात्र बोध गरिन्छ । त्यसैले त्यसको सामाजिक मूल्य हुन्छ । कलाको सामाजिक मूल्य भौतिक जगत्मै अडिएको हुन्छ । मरेको मान्छेले सिम्फोनी सुन्दैन । यद्यपि कलासिर्जनाको प्रयोजन सामाजिक, वैयक्तिक दुवै हुन सक्दछ । तर त्यसको उपयोगिता नितान्त निजी हुन सक्दैन । चाहे उत्पाद्य कलालाई वस्तुको रूपमा बजार पु-याइयोस् अथवा कला संग्रहालयमा । कलाको मानवीय मूल्य सामाजिक नै हुन्छ । यथार्थको प्रतिबिम्ब होस् वा भावनाको प्रतिबिम्ब, कृतिको वृत्ति तोक्ने काम समाजले नै गर्दछ । त्यसर्थ कलाकार समाजप्रति उत्तरदायी बन्दछ । सिर्जनाको हेतु अथवा प्रयोजन निर्धारण गर्न जरुरी हुन्छ । कृतिद्वारा उत्पन्न हुन जाने प्रभावप्रति जवाफदेही हुने हिम्मत कलाकारले लिनै पर्दछ । परम्परागत धाराका कलावादीहरू अथवा आधुनिकताको पहिरनमा आएका पूँजीवादीहरू ती दुवै कलाका साधक नभै सांस्कृतिक क्षेत्रका फौजदार बन्न पुगेका छन् । उनीहरूले कलालाई कलाकारसँग असम्बन्धित बताउँदै त्यसलाई कलाकारको वृत्तिको व्यावसायिक साधन बनाएका छन् । एकातर्फ आस्था र आचरणको मेल हुनुपर्छ भन्ने मान्यतालाई विरोध गर्दछन् भने अर्कोतर्फ कला जीवनको लागि, समाज र राष्ट्रको लागि एवं मानिस र मानवताका निम्ति – विश्वबन्धुत्व विकास गर्ने विराट् साधनको स्तरबाट तल खसाली दिन्छन् । हाम्रो धरतीको यथार्थ कला सदैव सामाजिक जीवनसँग सम्बन्धित रहिआएको छ । जसरी मोती सिपीको उपज हो, त्यसरी नै कला पनि समाजको उपज हो (विभ्रम और यथार्थ पृ. ११) भन्ने चिन्तनले के बताउँछ भने – समाजका निम्ति समाजद्वारा ग्राह्य समाजकै प्रतिबिम्ब बोकेर कलाकृति अस्तित्ववान् हुन्छ । व्यक्तिमनको अनुराग समाजको परिवेशगत प्रभाव नै हो । त्यसमा केही कल्पना, केही कामना थपेर सर्जकले मूर्तता प्रदान गरेको हुन्छ । मूर्तता र अमूर्तताको विकल्प पक्षबीच चेतनाको स्वरूप निश्चित हुने गर्दछ । हिजो सूचनाप्रसारणको शैली कटुवालद्वारा हाँक पार्ने रूपमा विद्यमान थियो । आज त्यसको विकल्प मौखिक रूपमै पनि ध्वनिप्रसारक, रेडियो, दूरदर्शन भएका छन् र लिखित रूपमा समाचारपत्र हुँदो छ । यद्यपि रेडियो टीभीमा पनि लिखित साहित्यकै पाठ गर्ने गरिन्छ । तसर्थ, विकल्पले समकालीन प्रविधि अपनाउँछ भन्ने कुरा हामीले देख्नुपर्दछ । समाजसापेक्ष तरिका हामीले पनि अपनाउनुपर्दछ । कलासाहित्य, संगीत र सिनेमा सबैको सामाजिक मूल्य हुने हुँदा नै त्यसको प्रचार–प्रसार, बिक्री–वितरण र विनिमय भइआएको छ । यही विशेषताले कला कलाका लागि भन्ने फत्तुर नष्ट हुँदै गएको छ र कला जीवन र मानवजीवनका निम्ति भन्ने मानवीय सूत्र संसारव्यापी बन्न पुगेको छ ।

(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.