ऐश्वर्य रायले विश्व सुन्दरीको मुकुट पहिरिँदा
मेरी आमा बुढी भैसकेकी थिइन्
तर मलाई लाग्थ्यो–
मेरी आमा ऐश्वर्य राय भन्दा धेरै सुन्दरी छिन् ।
अहिले आमाको अनुहार चाउरिएर
बनेकोछ धाँजा फाटेको खेतजस्तो ।
आमाको कपाल फुलेर
भएकोछ सेताम्य काँसघारीजस्तो ।
ढाड कुप्रिएर
भएकोछ झोलुङ्गे पुल
खुट्टा फुलेर भएकाछन् पाउरोटी
तर अझै पनि
उनी नै हुन् विश्व सुन्दरी ।
गाउँका रत्यौलीहरूमा
फन्फनी नााचिन् आमा बौलाहा पिठो खाएर ।
दौतरीहरूसंग छिल्लिइन्
र पुरुषले बनाएका नियमहरूको मजाक उडाइन् ।
आमाको नाँच
थिएन माधुरी दिक्षितको जस्तो लचकदार
थिएन साकिराको जस्तो कामोत्तेजक ।
तर त्यसको सौन्दर्य मौलिक थियो ।
आमाको नाँचमा
थोरै स्मृतिदंश
र धेरै गुम्फनको विष्फोटन थियो ।
मेरी आमा
खेलिनन् कुनै सिनेमामा नायिका भएर
खेलिनन् कुनै विज्ञापनमा मोडेल भएर ।
मेरी आमाको रौचिरा पनि
बेच्न सकेन
आइमाइलाई सेक्स टोय सम्झिने
नाफाखोर र कामुक बजारले ।
मेरी आमाले लगाइनन्
विकनी वा स्विमसुट
र सुन्दरता बेचेर बनिनन् ‘सेलीब्रेटी’ ।
भइनन् उनी कतै ‘टक अफ द टाउन’ ।
डाँका र हत्याराहरूको चर्चा हुँदा
कुनै मेडियाले लेखेन मेरी आमाको असलपनको कथा ।
टिभीमा लाइभ हेर्दैछु
विश्व सुन्दरी प्रतियोगिताको नयाा सस्करण ।
कुनै स्टार होटेलको अत्याधुनिक हलमा
नाफाखोर इरिक मोर्लेको पछिल्लो अवतार
कामुक प्रश्न सोध्दैछ युवतीहरुलाई ।
अब त्यसको नक्कली उत्तर दिएपछि
घोषित हुानेछिन् कुनै तरुनी
यस वर्षको विश्व सुन्दरी ।
अब म टिभी बन्द गर्छु
र आमालाई भेट्न गाउँ जान्छु ।
भाद्र ७, २०७२-
(स्रोत : Kantipur – Saptahik)