~पुष्प अधिकारी ‘अञ्जलि’~
थुनेर मनभरि
आस्थाको जूनहरू ,
घर आँगन र चोकहरूमा
ऊज्यालो खोजिरहेछु ..
मन्दिर मस्जिद ,चैत्य र बिहारहरूमा ।
साँझ बिहान
ईश्वरको प्राथना गरिरहेछु ,
बर्षौँदेखिको अनिदो आँखा ,
अँध्यारोका बिरूध्द
उज्यालोका बिम्ब खोज्दै
एकतमास हेरिरहेकाछन ।
एक अँगालो
सपना बोकेर
बिहानको घामले डाँडा काटिसकेछ ,
ओछ्यानमा पोखिएको
राता पहेँला टिकाहरू
अहिले खत मात्र बाँकी छ ,
अस्तित्वविहिन जिजिबिषाहरू
शकुनीको खालमा इज्जत बेचिरहेछ ,
चुनौती दिएर अँध्यारोलाई ,
कुनै समय
म भन्थेँ
मेरो भविष्य छ
मेरो वर्तमान छ ,
तर खोइ कहाँ छ ?
मेरो भविष्य मेरो वर्तमान ?
धृतराष्टले कालो पट्टी बाँधेर
आँखाहरूमा दृष्टि लुकाए जस्तै
गान्धारीलाई बिश्वासको समाधिमा
समतुल्य बनाएर
निष्फिक्री समय जितेको
शायद
म मेरो भविष्य फिँजाइरहेछु
आश्थाको र्घुमैलो क्षितिज ओछ्याएर
आँगन सम्म घाम ओराल्न
(स्रोत : kaflesantosh.wordpress.com )