जीवनयात्रा साथीविना थाल्न सकिन्न
साथी फेरूँ पनि भनिहाल्न सकिन्न
साथी आफ्नो सोचजस्तो कहाँ मिल्ला र !
छानीछानी रूपगुण चाल्न सकिन्न
चारैतिर चाहारेर राम्रै खोजे नि
धपक्कै छ रूप तर बाल्न सकिन्न
ऐनाले नि देखाउँछ नमिलेको रूप
नमिल्ने ती अङ्ग झिकी फाल्न सकिन्न
औँठी हार फेरी फेरी लाउन मिले झैँ
मानिसलाई सुनजस्तो गाल्न सकिन्न
भक्ति प्रसाद पौडेल
बिराटनगर नेपाल
(स्रोत : Shabdahar )