राजधानीको मध्यभागमा रहेको एउटा कम्पाउण्डवाल सहितको तीनतले आधुनिक घरको पहिलो तलाको ठूलो बैठक कोठामा पार्टीको एउटा महत्वपूर्ण मिटिङ चलिरहेको थियो । यो घर नेता महोदयको नीजी निवास थियो । कतिपय पार्टी पदाधिकारीहरु यो घरमा पहिलोपटक आएका थिए । नेता महोदय ठूलो बैठक कोठाको पल्लो छेउमा बसेर सामन्तहरुको दोहोलो काढेको बताईरहेको थियो । सामन्तहरुको अन्त नै पार्टीको विजयको एउटा कारण भएको उसको निष्कर्ष थियो । उँ भन्दै थियो कि उनीहरुको पार्टीका विरुद्ध कोही उठन चाहन्छ भने त्यो प्रतिक्रान्तिकारी हो र त्यस्ता समूहका विरुद्ध हरेक तह र तप्काका कार्यकर्ताहरुले हरेक तरीकाले प्रतिकार गर्नु अपरिहार्य आवश्यकता हो । उ भन्दै थियो “तपाईहरुले आफ्नो जिम्मेवारी उचित तरिकाले पुरा गर्नु हुन्छ भन्ने कुरामा केन्द्र विश्वस्त छ । तपाईहरुलाई आफ्नो जीम्मेवारी पुरा गर्दा पर्न आउने कानुनी तथा अन्य अपठयाराहरुबाट सधै झै केन्द्रले मुक्त गर्ने छ ।”
नेताको बोल्ने क्रम चलिरहेको थियो । कार्यकर्ता तथा साना नेताहरु चाँही गुरुकुलमा गुरुका अमूल्य ज्ञान ग्रहण गरिरहेका आज्ञाकारी शिष्यहरु झै यी सबै कुराहरु सुनिरहेका थिए ।
पछिल्लो पंक्तिमा रहेको एउटालाई साहै खसखस लागीरहेकोले अर्कोको कानैमा भन्यो “हैन यी नेता पहिले त म महलमा बस्न नेता भएको होईन बरु मलाई मेरो गाँउको छाप्रो नै प्यारो छ भन्थे कसरी यत्रो घरमा आईपुगे हँ?”
अर्कोले भन्यो – “त्यतिखेर उनको छाप्रो जस्तो सानो घरमात्र थियो नि त । अहिले एउटा व्यापारीले दिएको रे यो घर । चन्दा कार्यक्रम अन्तर्गत हो वा कव्जा गरिएको हो वा कोही मित्र व्यापारीले बक्सिसमा दिएको हो त्यो चाँही नेता महोदयलाई नै थाहा होला मलाई चाही थाहा छैन ।”
उसले पनि गाँउमा रहेको आफ्नो सानो घर सम्झेर घुटुक्क थुक निल्यो ।
४ जुलाई २००९, शनिवार
khadkabinod02@yahoo.com
हाल – दोहा कतार
(स्रोत : KhassKhass.com )