मलाई
म मरेको थाहा छ,
घिटी – घिटी बाँचेकै थिएँ
मरे पनि हाँसेकै थिएँ
कहिले अरूको रगत पिएर
कहिले कृत्रिम स्वासको सहारा लिएर
आफ्नै आयू लम्ब्याएकै थिएँ
किनकी म मरिसकेको थिएँ
हो मलाई थाहा छ
म मरिसकेको थाहा छ,
शिरमा डण्डा बर्सिएको बिर्सेको छैन
देशको झण्डा हल्लिएको बिर्सेको छैन
सिमा मिच्दा नि हेरेकै हेर्यै थिएँ
घाँटी थिच्दा नि हेरेकै हेर्यै थिएँ
हो म हेरेको हेर्यै थिएँ
मृत्युसैयामा बसेर
म हेरेको हेर्यै थिएँ
सबैले बोलेको सुनेको पनि हो
म वैरो झैँ थिएँ
सुन्थेँ,प्रत्युतर नै शून्य थियो
हेर्थेँ,प्रतिक्रिया नगन्य थियो
म कोमामा बसेको थिएँ
अर्थात
म ज्यूँदै मरेको थिएँ
जतिखेर म कर्तव्यहिन थिएँ
मलाई थाहा छ
म त्यतिखेरै मरेको थिएँ
हो मलाई थाहा छ
म मरिसकेको थाहा छ,
मैले फेरि
मेरो आत्मालाई
अस्थिपञ्जरमा मिसाएको छु
सबै अङ्ग उही हो
तर केवल मानवरूपी शरिर छैन
आँखा छैन,कान छैन
अब मलाई
न सुन्नु छ,न हेर्नु छ
आँखा कान केही नभए पनि
कुनै मतलब छैन
आफैले आफ्नो उमेर
बढाउन सक्ने
प्राणी हुँ म
यो अस्थिपञ्जरलाई
फेरि मानिस भनाउन सक्ने
प्राणी हुँ म
यो मूर्दाहरूको शहरमा
म भूत भए पनि के भो !
म पिचास भए पनि के भो !
यहाँ चिन्नेहरूले चिनेकै छन्
मैले लाज पचाएपछि
नाङ्गै हिडे पनि के भो !
म त्यतिखेरै मरिसकेको प्राणी
मूर्दाघरबाट ब्यूताएर ल्याईएको प्राणी म
हो म त्यतिखेरै मरिसकेको मान्छे
हो मलाई थाहा छ
म मरिसकेको थाहा छ,
कसैले ढ्याङ्ग्रो ठोकेर भए पनि
मलाई बोलाएकै छन्
कोही पन्साउने निहुँमा भए पनि
मेरो गुनगान गाएकै छन्
चाहे मलाई भूत भनुन्
या त मलाई पिचास
म सबैको
कण्ठको प्रिय भएकै छु
यो मानव रहित शूनशान शहरमा
अरू कसैको वास छैन
अरू कसैको आस छैन
कसैले केही गर्ने भए पो
जुवामा हारेका मान्छे झैँ
मेरै वरिपरि झुम्नु बाहेक
यी मूर्दा मान्छेहरूले
अरू केही देखेकै छैनन्
ढुङ्गालाई देवता मान्नेहरू हुन् !
नुन खाएको कुखुरा झैँ
लठ्ठ लठ्ठिएका छन्
अझ लठ्ठिने ओखती खाएका छन्
संघिय गणतन्त्रको ओखती
यो बाहेक अरू केही देख्नै सक्दैनन्
म जस्ता पिचासहरूको
तान्त्रिक विद्यामा फसेका छन्
तर मलाई थाहा छ
म मरिसकेको थाहा छ ,
म मरिसकेको प्राणी
फेरि कङ्कालकै रूपमा भए पनि
म आउँदैछु,यही शहरमा
जहाँ म मरेको थिएँ
मेरो चाहनाले नभएर तिकडमहरूको बीचमा
बाँच्न चाहँदा चाहँदै म घिटी-घिटी हुँदै मरेको थिएँ
हो म आउँछु
संविधान सभा पुनर्स्थापना भए पछि
म फेरि आउँछु
दुई वर्ष लागोस,चार वर्ष लागोस्
चाहे एकदशक नै किन नलागोस्
म यसरी नै आउँछु
अझ धार्मिक मुद्दा लिएर आउँछु
यहाँ तहस नहस बनाउँछु
तर मलाई थाहा छ
म मरिसकेको थाहा छ ।
(स्रोत : Kaflesantosh.wordpress.com)