झुन्डिएर
भित्ताका काँटीहरुमा
खुइलिएको आकाशको
एक भाग जस्तो लाग्दोरहेछ – सिलिङ्गतिर हेर्दा ।
अब आसनको बदली हुनुपर्छ
घोप्टिएका काँचका गिलासहरु ठडिनुपर्दछ ।
म आफ्नैं छाँयाको भूकाइ खेप्न –
यत्ति आत्तुर किन छु ?
एउटा सपना आएको हुनुपर्छ – निन्द्रामा
पक्कै उसैले समाएको होला – मेरो दुखिरहेको घाँटीको हड्डी ।
यो ढोका नभएको बन्द कोठाभित्र म कसरी पो पसेंछु ?
कसरी पो आएछ – त्यो सपना ?
आँखाको डिल वरीपरी – टाँसिएका
रगतका टाटा देख्दा थाह भो
मैले सपनाको हत्या गरेंछु ।
अरु कस-कसले मारेको छ सपना ?-
– भूतले
– रुखले
– बगरले
– चिहानले
– लिङ्गले
या
– तरवारले ।
हरे !
यत्ति धेरै पसीना बग्दारहेछन सपनाको हत्या गर्दा ?
मेरो आँखाहरु मेरो जस्ता छैनन्
किन यत्ति धेरै खुम्चिएको छ – मेरो निधारको छाला ?
की म मा असी बर्षको बुढेशकाल छाईसक्यो ?
– के मेरी श्रीमती मरिसकिन् ?
– खै कहाँ छ ? की छैन ? – मेरो छोरीको छोरो ।
मैले यो समयमा – धक फुकाएर एक बिहान रुन सक्नुपर्छ ।
मेरो – राजाको सम्झनामा
मेरो – माटोको सम्झनामा
मेरो- श्रीमतीको सम्झनामा
अब मैले भुँइमा टेक्नुपर्छ
भुइँमा बस्नुपर्छ एउटा
मुर्त-मस्तीका खातिर – नाङ्गै भएर
एक पटक हस्त-मैथुन गर्नुपर्छ ।
*****
खुइयाआआआआ …………..
किन यति मिठो भैदियो यो थकान ?
आहा – एक दुर्लभ थकान
फेरी फेरी – म भएतिरबाट गुज्रिरहोस |
(स्रोत : Bi Pra’s Facebook )