~सुनिल घिसिङ~
जाउ नानु
तिम्रो आफ्नो बाटो जाउ
स्वर्ग र नरकको दोभानमा बसेर
रुदै रुदै
पापी धरतीलाई
फर्की फर्की नहेरेकै जाती
तिमी जन्मिनु नै बोझ भएछ
जन्मेर छोरी हुनु नै गल्ती रहेछ
खोइ त
तिम्रो विक्षिप्त मृत शरिरको आडैमा
शोक मग्न तिम्रा बाबु र आमा
शोक मग्न गाउका छिमेकीहरु
एक दिन
एक अन्जुली भरी आशु झारेर
तिमीलाई बिदाइ गरे
बस
अनि बिर्सिदिए
तिम्रो अस्मिता लुट्ने पापी साइँदुवालाई
तिम्रो मृत्युको कारकलाई
अनि
एक छनक पनि डरको पोको नझुन्ड्याइ
गर्बले छाती फुलाउदै
तिम्रो झुपडी अघिबाट
हिडेको देख्छु तिनलाई
तिम्रो निस्सासिदो आवाजहरु
खोइ त
पहरा दिने पुलिस दाइहरुले सुनेका
सायद तिनका कानहरु
पैसाले बहिरो बनाइदिए जस्तो लाग्यो
खोइ त
आखामा पट्टी बाधेर
तराजुमा न्याय जोख्नेहरुले
तिम्रो पिडाको चित्कारहरु सुनेका
सायद तिनका तराजु पनि
पैसाले गह्रौ बनाइदिए जस्तो लाग्यो
जाउ नानु
तिम्रो आफ्नो बाटो जाउ
अनि फेरि
पुनर्जन्म लिनु
यही पापी धरतीमा
तर
यसपाली
तिनै पापी साइँदुवाको छोरी भएर जन्मिनु
तिनै पुलिस दाइहरुको एक्ली छोरी भएर जन्मिनु
तिनै न्याय दिलाउनेहरुको लाड्ली छोरी भएर जन्मिनु
यिनै शुशिल
यिनै प्रचण्ड
यिनै बाबुराम
यिनै सुबास चन्द्र
तिम्रै छिमेकी उपेन्द्र
तिनकै छोरी भएर जन्मिनु
अनि फेरि
यसैगरी बलात्कृत हुनु
तब बल्ल
तिम्रो पिडाको चित्कार बुझ्नेछ
तिम्रो रोदनको आवाज सुन्नेछ
तब
कति चिरिन्छ मन
मन कति दुख्छ जोड्ले
बल्ल
थाहा पाउनेछ तिनीहरुले
( बलात्कारीलाई कडा भन्दा कडा सजाय दिइयोस … बारा कलैयाकी ७ बर्षिया बालिका पुजा शाहलाई श्रद्दान्जली स्वरुप )
– सुनिल घिसिङ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )