~राममणि पोखरेल~
त्यही दिनको कुरा,
आवाज नभएको दिनको कुरा
भेला हुन नपाएको दिनको कुरा
हामीले आफूलाई
नागरिक भन्न नपाएको दिनको कुरा
म यतिबेला तिमीलाई सम्झाइरहेछु÷त्यही अन्धकारजस्तो दिनको कुरा
हो, त्यही हामीले खेपेको
पुरानो दिनको कुरा ।
कति अँध्यारो थियो रात ?
तिमी भिजेर आउँथ्यौ मेरो घरमा
र हामी पुराना लुगाहरू दिन्थ्यौं
तिमी कति खुसी हुन्थ्यौं ? म अझै पनि देखिरहेछु
म त्यही दिनको कुरा÷तिमी त भोग्ने मान्छे ह्वौ ।
कसरी बिर्सन्छौ÷तिमीलाई सम्झाइरहेछु म
हो, त्यही दिनको कुरा ।
तिमी कसरी बिर्सन्छौ
तिम्रो झोलामा हर दिन
मकै भटमास र सातुको बास्ना आएको कुरा
तिमीले सम्झनै पर्छ यी कुराहरू
मैले तिमीलाई सम्झाउनै पर्छ यी दिनहरू
जब तिमी बिर्सन्छौ यी कुराहरू
अर्थात् बिर्सेजस्तो गर्छौ
तिमी साँच्चिकै मान्छे बन्नबाट
भाग्दै जाने बाटोमा हिंडिरहेछौ
तिमी सोच
कसरी बिर्सन्छौ ?
त्यो दिनको कुरा ।
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )