ए प्रेम
किन खोज्छस् रेस्टुरेन्टको
महङ्गो बिल?
सक्छस्,आफ्नै भाउ बढा
तेरो नाममा नक्कली प्रोडक्ट
सस्तोमा बेच्नेको
बिगबिगी छ।
प्रेम,
मेरो अनुरोध तँलाई
नखोज सुन्दर अनुहार
र सुनको हार
कालो कोइलीको स्वर
सुनेको छस्?
क्या स्वच्छ अनि सफा
सुमधुर अनि प्रेमिल
मिठास छ
त्यो कालो पोतिएको
शरीर भित्र।
प्रेम,
आखिर किन खोज्छस्
शारीरिक निकटता?
आत्मा सङ्ग नजिक बन् बिन्ती
देखेको छैनस् र,
सगर र सागर बिचको नाता?
जति टाढा
त्यतिनै गाढा।
प्रेम,
नलगा आफ्नो थाप्लोमा
जात,उमेर,धर्मको तप्का,
किन बन्छस् आखिर
सानो या ठूलो?
तेरो आफ्नै बेग्लै
आकार छैन र?
भावनाको आकार,
विश्वासको आकार,
साथको अनि अठोटको आकार?
(स्रोत : Swechha Raut’s Blog)