छन त छन् काठमाडौंमा
हवेली र आलिसान महलहरू
दरबार र सुपर मार्केटहरू
पाँचतारे होटेल र रेस्टुरेन्टहरू
पाँचतारे अस्पताल र नर्सिङहोमहरू
पाँचतारे स्कुल र कलेजहरू
डिस्कोथेक र क्यासिनोहरू
रात्रिक्लब-सिनेमाहलहरू
पार्लरमा रि-कन्डिसन अनुहारहरू
भाडाका व्यावसायिक मुस्कानहरू
तँलाई लाग्ला साइँला
जे छ सबै काठमाडौंमा छ
तर वास्ताविकतामा
जस्तो देखिन्छ त्यस्तो छैन काठमाडौं
जस्तो सोचिन्छ त्यस्तो छैन काठमाडौं
अकर्मण्य घरज्वाइँ जस्तो छ काठमाडौं
जसको दायित्व कुनै जिम्मेवारी छैन
गरुङ्गो छैन भने साइ“ला खल्ती तेरो
साला काठमाडौंमा केही पनि छैन ।
जे-जस्तो भए पनि आखिरमा
दास मानसिकता न हो काठमाडौं
बन्धकी राखेर आत्मसम्मान
भूलभुलैयामा यो हराउँछ
चाकरीमा यो गजब रमाउँछ
गोर्खालीको बँधुवा काठमाडौं
अलिकति स्वाभिमान भए आस्थामा
लाचार चुपचाप बस्ने थिएन
साक्षी छ यो देशको इतिहास
रामायणकी शूर्पणखाको जस्तै
नाक-कान काटिएकै हो काठमाडौंको
दुवै आँखा झिकिएकै हो काठमाडौंको
बाँकी भए अलिकति स्वाभिमान
विषथैली निकालेको सर्पजस्तै
अर्ढाई शताब्दीसम्म काठमाडौंले
मदारी धुनमा दासता नाच्ने थिएन
दसीप्रमाण छ ज्यूँदो वर्तमान
आत्मविश्वास भए आफूमा अलिकति
विश्वास नगरेर आफैमाथि
युरोप-अमेरिका ताक्ने थिएन
यथार्थमा यसको निजी स्वत्व छैन
स्व-विवेकमा यो कहिल्यै चल्दैन
कुरा स्वाभिमानका गर्ने हो भने साइ“ला
साला काठमाडौंमा केही पनि छैन ।
झूट-प्रपञ्चको खेल हो यो
पाखन्ड-आडम्बरको ढोल हो यो
पाना इतिहासका पल्टाएर हेरे हुन्छ
यसको कर्तुतले सगरमाथा छुन्छ
के गरेन यो काठमाडौंले ?
निर्दोष भीम मल्ललाई यसले मारेन कि ?
भीमसेन थापालाई परिबन्दमा पारेन कि ?
गर्नु-नगर्नु यसले गरेकै हो
जङ्गबहादुर यसैले कोरलेकै हो
धरहराबाट हामफाल्न लगाउँदा
ताली पिटेर काठमाडौं रमाएकै हो
शरण परेर तानाशाहहरूको
कान यसले समाएकै हो
जमिन सधैँ काठमाडौंको
निर्दोष मान्छेका रगतले रङ्गयिो
कहिले कोतपर्वमा यो रमायो
कहिले भण्डारखालको काण्ड गरायो
कहिले भाइ-भारदारलाई विष पिलायो
अस्ति भर्खर नारायणहिटीकाण्ड रचायो
तर पनि काठमाडौंले निसाफ बोलेन
जहिले पनि बन्दुकसँग यो डरायो
दाम राखेर पाउमा सलामी चढायो
यसको कुनै सुनौलो इतिहास छैन
कुरा इमान र सुशासनको गर्ने हो भने साइँला
साला काठमाडौंमा केही पनि छैन ।
लाखेनाचको घाँडोजस्तो छ काठमाडौं
डामेर छोडेको साँढेजस्तो छ काठमाडौं
बाजको चल्ला हो काठमाडौं
कोलाहल हल्ला हो काठमाडौं
यसको काइदा कुनै अदब छैन
जति राग कराए पनि शान्तिको
यसमा इमानदारीको जग छैन
बेइमानी, ठगी, जालझेल हुन्छ
सत्ताको फोहोरी खेल हुन्छ
उत्तेजना छ, संवेदना छैन
मान्छेहरू छन्, मानवता छैन
फूटपाथमा थुक्छन् अट्टालिकाहरू
धरातलको कुनै अस्तित्व छैन
कागजका फूलजस्ता छन् मान्छेहरू
मुटुहरूमा हार्दिकता छैन
निष्प्रायोजित कुनै भाका छैन
कुरा वास्तविकताका गर्ने हो भने साइँला
साला काठमाडौंमा केही पनि छैन ।
टेलिभिजनमा देखेर देखिन्न काठमाडौं
लेखेर शब्दमा लेखिन्न काठमाडौं
धरहरा टेकेर टेकिन्न काठमाडौं
न्युरोड र ठमेल मात्रमा भेटिन्न काठमाडौं
मनहराकिनारहुँदो झुपडीमा सोध्नर्ुपर्छ
चिसोरात फुटपाथ-किनारमा खोज्नर्ुपर्छ
कस्तो छ काठमाडौंको आत्मकथा
श्रमिक र मजदुरसँग बुझ्नुपर्छ
सोझा-निर्धामाथि फुइँ गर्छ
सत्ता र शक्तिलाई बुइ गर्छ
यसको मपाईं भनिसाध्य छैन
बाटो सोध्यो भने ठस्केर मुन्टो मर्काउँछ
मोफसल देख्यो कि ओँठ यसले फर्काउँछ
चिनेकोले पनि नचिनेझैं गर्छ
भोक लाग्यो कि कसैले सोध्दैन
लास पल्टोस् मान्छेको सडकमा
ऐया, कठै कसैले बोल्दैन
दिनहुँ हराइरहेछन् मान्छेहरू
खोजखबर कसैले गर्दैन
विनाशुभलाभ मुख कसैले खोल्दैन
विनालेनदेनको सम्बन्ध कुनै बन्दैन
राजधानीबाहिर बस्नेलाई त
मान्छे कसैले यहाँ गन्दैन
दियो मानवताको कतै जल्दैन
कुरा हार्दिकताको गर्ने हो भने साइ“ला
साला काठमाडौंमा केही पनि छैन ।
बेइमान मुलुकमा सधैं आवाद हुन्छन्
इमानदारहरू सधैं बर्बाद हुन्छन्
गाउँमा चप्पल पड्काएर घुम्नेहरू
सिंहदरबारको गैरीखेतमा टेक्नासाथ
झूट-कपटको हलो चलाउँछन्
झूट-फरेबका बीज लगाउँछन्
झूटका फसल फलाउँछन्
साधुहरू शूली चढाइन्छन्
दुर्जनहरू धुरी चढाइन्छन्
सक्नेले सकेको सबै गरे हुन्छ
सक्नेलाई यहाँ कुनै पाबन्दी छैन र्
बर्बरताको कुनै यहाँ हदबन्दी छैन
बगरे न हो काठमाडौं यसका लागि
स्वार्थभन्दा ठूलो देश छैन
कुरा त्याग र र्समर्पणका गर्ने हो भने साइ“ला
साला काठमाडौंमा केही पनि छैन ।
विडम्बनाको शृङ्खला हो काठमाडौं
आडम्बरीहरूको भेला हो काठमाडौं
महँगी अनि जालझेल हो काठमाडौं
कृत्रिम अभावको खेल हो काठमाडौं
कहिले यहाँ दाल-चामल छैन
कहिले यहाँ नुन-तेल छैन
सपनाको खेती न कसैले भेट्टाउँछ
थुक निलेर मेलम्ची प्यास मेटाउँछ
विश्वास जहाँ भित्रभित्रै कुहिन्छ
धारामा पानीको सट्टा ढल चुहिन्छ
कृष्णभीरमा पैरो झरेको खबर पाए
रासन एकाएक कतै हराउँछ
नौबिसेमा गाडी जुधेको हल्ला आए
महँगी धुरी चढेर कराउँछ
कुनै कुराको यहाँ बन्देज छैन
कुरा स्थिरताको गर्ने हो भने साइ“ला
साला काठमाडौंमा केही पनि छैन ।
शोभराजहरूको सन्जाल हो काठमाडौं
ढोंग-पाखन्डको जन्जाल हो काठमाडौं
रासलीला गरेर रातैभरि
बिहानै गीताको पाठ गर्छ
नाङ्गएिर अँध्यारा कोठीहरूमा
दिउँसो रामनामी च्यादर ओढ्छ
चीरहरण गरेर अबला नारीहरूको
नारीमुक्तिको व्याख्यान छाँट्छ र्
कर्मभूमि यो पाखन्डको
पशुपति बोलबम-बोलबम जप्छ
चाबहिलले छुरा रोप्छ
भद्रकाली अनसन बस्छ
सिंहदरबार घाँटी कस्छ
रत्नपार्क भाँडभैलो बढाउँछ
कीर्तिपुर बेरोजगारी पढाउँछ
हनुमानढोका इन्साफ कुट्छ
टुँडिखेलले भाषण चुट्छ
एकथोक भन्छ, अर्कै गर्छ
बोलीको कुनै भरोसा छैन
कुरा इमान्दारीताका गर्ने हो भने साइ“ला
साला काठमाडौंमा केही पनि छैन ।
कान भएर बहिरो छ काठमाडौं
आँखा भएर अन्धो छ काठमाडौं
खुट्टा भएर लङ्गडो छ काठमाडौं
स्वार्थबाहेक यसले अरू केही देख्दैन
शुभलाभबाहेक यसले अरू केही सुन्दैन
मान्छेका आँसुमा यो रमाउँछ
इमान बेचेर नाम यो कमाउँछ
खुट्टा तान्छ, हात कहिल्यै तान्दैन
सिटामोलको अभाव पुत्ताइरहँदा आर्यघाट
टेकु व्यस्त स्वास्थ्य-सम्मेलनमा हुन्छ
सिमिकोट भोकले थला पर्दा
सिंहदरबार मस्त रात्रि-डिनरमा हुन्छ
कर्णालीको विकास गर्न
गोदावरीमा सेमिनार चल्छ
देउकी र छाउपडीको अन्धविश्वास
बानेश्वरमा क्याटवाक गर्छ
यसलाई लाज र कुनै शर्म छैन
यसको नीति र कुनै धर्म छैन
कहाली बझाङ-बाजुराको यो खोज्दैन
खबर दार्चुला-कालापानीको यो सोध्दैन
छिमेकीले मधेश डुबाएको यो देख्दैन
दोधारा-चाँदनी यसले टेक्दै टेक्दैन
चामल डोल्पाको यतै डकार्छ
नुनतेल मुगुको यतै खकार्छ
विकास ताप्लेजुङको यतै हाम पार्छ
औषधि कालिकोटको यतै झ्वाम पार्छ
छाडा छ यसको कुनै कमान छैन
मत्ता हात्ती यसलाई कुनै लगाम छैन
विधाता आफै यसको विधान छैन
व्याधी-छलकपटको कुनै निदान छैन
कुनै कानुनले यसलाई छुँदैन
कुरा विधि र विधानको गर्ने हो भने साइला
साला काठमाडौंमा केही पनि छैन ।
(स्रोत : साहित्य संग्रहालय )