उनी, अहा ! कति राम्रो छ यो शब्द । यस शब्द भित्र आफैमा एक मिठास लुकेको छ । हुनत यो शब्द कतिको लागी तिक्त पनि हुन सक्दछ । तर मेरो हकमा भने यस शब्दको आफ्नै एक छुट्टै परिचय र अस्तित्व छ । यो शब्द मेरो हृदयमा सँधै प्रेरणा भएर वास गरिरहने छ ।
साँच्चैनै उनी मेरो लागी प्रेरणाको स्रोत हुन् । म आज जहाँ छु, जे छु यो सबैनै उनकै प्रेरणाको उपलब्धि हो । यसर्थ म उनीलाइ खुसिसाथ मेरो अभिभावक भन्न रूचाउँछु ।
उनिसँगको पहिलो भेट कहाँ कसरी भयो त्यो म स्पष्टसँग सम्झन सक्दिन । हाम्रो मित्रता त्यस्तै ६।७ वर्ष पुरानो होला । तर पनि हाम्रो मित्रताले गहिरो जरा गाडिसकेको रहेछ । प्राय उनको र मेरो भेटघाट भैरहन्थ्यो । हुनत शुरू शुरूमा हामीले उक अर्काको भावना बुझ्न सकेका थिएनौं । यो स्वभाविक पनि हो । विस्तारै हामी एक अर्काको विचारसँग परिचित भयौं । उनको र मेरो विचारहरू केही ठाउँमा विपरित भए पनि बहुपक्षिय विश्लेषणमा मिल्दथे र केही ठाउँमा हामीले सम्झौता पनि गरेका थियौं । यस अर्थमा भन्नु पर्दा हामी एक वैचारिक मित्र थियौं । तर हामी विच कहिलेकाँही वैचारिक वैचारिक द्वन्द पनि चल्दथ्यो । समग्रमा भन्नु पर्दा हामी एक असल मित्र थियौं ।
प्राय उनको र मेरो भेट भइरहन्थ्यो भनेर मैले पहिलेनै उल्लेख गरिसकेको छु । भेटघाटमा हामी साधारण भलाकुसारी गर्दथ्यौं । अनि एक आपसका सुख दुखका कुरा हुँदै समसामयिक कुरामा हाम्रो छलफल केन्द्रित हुन्थ्यो । हुँदा हुँदा हामीविच द्वन्द चल्थ्यो र हामी एक अर्काको विरोधि भएर छुट्टिन्थ्यौं । तर फेरी अर्को भेटमा हामी खुलस्त भएर कुरा गर्दथ्यौं । मानौंकि हामीविच द्धिविधा र द्वन्दको कुनै तुष बाँकी छैन ।
अझसम्म हामीलाइ थाहा थिएन हामीविच कस्तो प्रकारको सम्बन्ध बिकशित भैरहेको छ भनेर । यसरीनै हाम्रो सम्बन्ध अघि बढिरहेको थियो कुनै बाधा र अड्चन बिनानै । त्यस्तै ४ बर्ष अघि उनले म सँग अचानक भेट्ने आग्रह गरिन् । मैले केहि कुरा बुझ्न सकिन । म उनलाइ सँधै भेट्ने ठाउँमा पर्खिएर बसिरहें । जब उनी आइन् त्यसपछि मैले आफुलाइ स्वभाविक चञ्चल बनाएर भलाकुसारी आरम्भ गरें । तर अफसोस्, उनीसँग त्यो खुलापन, चञ्चलता, आकस्मिकता रत्तिभर थिएन । थियो त केवल गाम्भिर्यता र उदाशीपना । हो मैले उनीलाइ यसरए गम्भिर कहिल्यै देखेको थिइन । मैले उनमा आएको त्यो परिवर्तनको बारेमा जान्न उत्सुकता प्रकट गरें । उनले आफ्नो बाध्यता अनि बिवशता सँगै आफु प्रणयसुत्रमा बाँधिन लागेको कुरा बताइन् । म छाँगाबाट खसे जस्तो भएँ । हामी दुबै निस्तब्ध, मुक भएर मनमनै रोइ रह्यौं । बल्ल हामीलाइ थाहा भयो एक अर्कालाइ हामी असाध्यै माया गर्न अन्जानमै थालिसकेका रहेछौं । तर पनि हामी खुल्न सकेनौं । मलाइ डर थियो कतै उनलाइ चोट त पुग्ने हैन । शायद उनी पनि त्यसैले चुप् लागिन् होला । मैले आफ्नो हृदयमा गाँठो पारेर भएपनि अनुहार र ओठमा जवर्जस्ति मुस्कान छर्दै सफल दाम्पत्य जीवनको शुभकामना दिएँ । उनले सकेसम्म आफ्नो आँखामा आँशु लुकाउन खोजिन्, तर पनि उनका आँखा रसिला थिए । अन्त्यमा हामी आफ्नो मित्रता अनि सम्बन्धमा कुनै आँच आउन नदिने वाचा गरेर छुट्टियौं । छुट्टिएपछि मलाइ नरमाइलो लाग्यो, कतै हाम्रो मित्रता छुट्ने त हैन ? जीवनमा पहिलो पल्ट केहि गुमाए जस्तो लाग्यो । त्यसपछि उनीसँग मेरो भेटघाट भएन ।
हिजो फेरी उनीसँग भेट भयो । उनि निकै फेरिएकि थिइन् । साडीचोलोमा सजिएकि उनी लाग्दथ्यो साह्रै सुन्दर छिन् । हुन पनि उनी निकै सुन्दर थिइन् । अझ उनको काखमा रहेको त्यो सुन्दर अनि कोमल बच्चाले त उनको सौन्दर्यमा अझ सुनमा सुगन्ध थपेको थियो । अझ म त उनको काखमा मातृत्व मुस्कुराइरहेको थियो भन्न मन पराउँछु । किनकी भनिन्छ नारीको सम्पुर्ण सौन्दर्यनै मातृत्व हो भनेर । उनीसँगको साधारण भलाकुसारी पछि उनको बच्चालाइ जिस्काउँदै भने “बाबु हेर त म त तिम्रो काका पो हुँ त ।“ तर उनले तत्कालै प्रतिबाद गरिन् “काका हैन बाबु, उहाँ त तिम्रो मामा हो ।“ मलाइ यो शब्दले मनमा कता कता छोयो । मेरो आँखा झण्डै रसाएनन् । “आँखिर तपाइले हाम्रो नयाँ सम्बन्धको नयाँ स्वरूप खोजि छाड्नु भएछ । खुशी लाग्यो “ मैले भनें । “हो दाजु बहिनीको रूपमा । म तपाइको बहिनी भएँ ।“ उनको प्रत्युतर थियो । “के तपाइ र म एक असल मित्रमै रहन सक्दैनौ र ?” मैले जिस्काउँदै भनें । “त्यसो हैन । रहन सक्थ्यौं । तर मेरो बच्चाले अहिले सम्म मामाको प्यार पाएको छैन । र मलाइ पनि तपाइको माया अनि ममता एक असल र आदर्श मित्रको रूपमा नभएर एक ममतामयी र उत्तरदायी दाजुको रूपमा आवश्यक्ता छ । म तपाइकी प्यारी बहिनी हुन चाहान्छु, एक आदर्श मित्र हैन ।“ त्यसपछि उनीलाइ लिएर म आफ्नो घर तिर लागें मेरो परिवार र आफन्तसँग परिचित गराउन ।
हो साँच्चैनै मैले आज देखि एक ठुलो उत्तरदायित्व पाएको छु । यसलाइ मैले कुशलतापुर्वक निभाउनु पर्दछ । फेरी मलाइ लाग्न थालेको छ, मैले धेरै थोक पाएँ । साँच्चैनै मैले प्यारी बहिनी पाएँ । मलाइ गर्व लागेको छ । तर सँग सँगै ग्लानी पनि भइरहेको छ …….. मैले एक असल मित्र गुमाएँ । के बहिनी एक असल मित्र हुन सक्दिन र …………. ?
– कोटेश्वर, काठमाण्डु
२०५९ । ०९ । २४
(स्रोत : Prashant’s Blog )