न्यानो मातृभूमी छोडी
परदेशिनु पर्दा
आफ्नो भएभरको सम्पत्ती
सौतेनी आमाको छोरीलाई
दाइजो दिएर
कान्छो बाउको घरमा
हली बस्न आए जस्तो लाग्छ ।
प्राकृतिक रुपमै धनी
हामी नेपालीलाई हेर्दा,
थाङ्नेको घरको करेशामा गई
मात्र पेट भर्नको लागि
एक टुक्रा रोटीको खोजिमा
आफ्नो नाक जोते जस्तो लाग्छ।
नेपाली अर्थतन्त्रलाई
नियालेर हेर्दा
सस्तो श्रमिक उत्पादन गर्ने मेशिन
र निम्न गुणस्तरको बिदेशी सामान
सुनको भाऊमा
बेच्ने अड्डा भए जस्तो लाग्छ ।
नेपाली नेताहरुको
तालमेल देख्दा
वीर शहीदहरुको
अमूल्य बलिदानलाई
गुन्द्रुकको भाऊमा
बेचीरहेको जस्तो लाग्छ ।
अन्तरिक मामलामा
बिदेशी हस्तक्षेप हुँदा
दिनदिनै नेपाली सिमाना
मिचिएको देख्दा
जन्मदिने जननीको
बलात्कार भए जस्तो लाग्छ ।
आफ्नी आमाको
बलात्कृत-बिभत्स रुप देख्दा
आज नेपालीहरु
रंगमन्चको मन्त्रमुग्ध दर्शक
जस्तै भएर हात बाँधी
हेरीरहे जस्तो लाग्छ ।
बिरता र स्वाभिमानी
हाम्रो पूर्खाहरुको गाथा
वीर गोर्खाली भनेर चिनिने
नेपालीको यो नारालाई
हाम्रो मौनताले
चुनौती दिए जस्तो लाग्छ ।।
रीता राई
(स्रोत : Rita Rai’s Blog )