नरले पार्यो नर,
कस्तो बरबर बा ! कस्तो बरबर !
गोल आँशू ढिका सरी,
डोल, जली, पर !
हम्रो यही घर बा, हाम्रो आँशू घर !
बेहोशमा सुन्छ मानिस,
आज दिनभर !
बिग्रिएका सपना छन्, हेर ! नभचर बा !
हेर नभचर !
भाका, भुल्ने करले, भुल्यौ ?
मौन दर्शक वर !
हेर्नु पनि ज्वलन छ, आज नरको घर बा !
आज नरको घर !
काँच दृगले काँच दृगलाई
हेर्छन् पृथ्वीचर !
लाचारी छ ! क्यै नबोले, सृष्टि मर्ली नत्र बा,
सुनी तिम्रो स्वर !
ठूला रूखले पहेँलपाते
सडाइरा’छन् हर !
सक्तैन नि मानिस गर्न, मानिसको भर बा !
मानिसको भर !
स्वर्ग बिन्दु ! तिमी मनि
मर्दा, मार्दा, नर
झस्किरा’छन् दु:स्वप्नमा, ज्योति भई झर बा !
ज्योति भई झर !
रातले पोती काली मुखमा,
सर्मोस् भनी नर !
ठूलो माछो सानो खान्छ, यो जलको घर बा !
यो जलको घर !
बिस्फोट भो भूको मुटु,
मात गिदी भर !
प्रलय झैँ रात छ हेर ; ज्योति नयाँ छ र बा !
ज्योति नयाँ छ र !
भूलाई जनि गर बा ! भूलाई जनि गर !
(स्रोत : Rajan Ghimirey’s Blog )