कथा : साइनोको ब्यापार

~सीता बराल~Sita Baral

‘बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई ।’ रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए ।

कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको ।
उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ । अहिलेको समयमा परदेश लागेका एक्ला श्रीमानहरुको आफ्नो श्रीमतीलाई छिटै नै बोलाउन मिल्ने सजिलो माध्यम बनेकी छन् फतीमा । युरोपका केही केटीहरु पैसाको लागी यहा आउने युवाहरु संग विहे गरेर केही समय पछि सम्बन्ध विच्छेद गर्ने गर्दछन् । यस्तै साइनोको ब्यापार फतिमाले पनि गर्ने गरेकी छन् । यसै क्रममा एजेन्सी मार्फत सम्पर्कमा आएकी फतिमा रुपेशलाई सारै माया गर्छिन । हुन त यो उनको बानी नै भैसकेको छ । पैसाको लागी अन्य मानिस संग सम्बन्ध गास्दै केही समयपछि विच्छेद गर्न सक्ने अचम्मको माया गर्न जानेकी छन उनले ।

सजिलै र छिटै रातो पासपोर्ट हात पार्ने यो तरिका रुपेशलाई मन पर्यो । गाउबाट पैसा मगाएर भएपनि उनले फतिमा संग बिहे गर्ने निधो गरे । भरखरै युरोप आएका रुपेश यहा भएको बेरोजगारी समस्याले गर्दा एजेन्सीले कबुल गरेको पैसा एकै चोटी बुझाउन नसक्ने भएपछि फतिमाले किस्ता बन्दीमा लिन स्विकार गरीन । रुपेश र फतिमा दुवैजनाको मनमा हामी वास्तविक श्रीमान श्रीमती होइनौ र तोकीएको पैसा बुझाइ सके पछि हामीहरुको यो कागजी सम्बन्ध पनि विच्छेद गर्नुपर्ने छ भन्ने थाहा छ । त्यसपछि फतिमा ले अर्को ग्राहक भेटने छ भने म मेरी निर्मला र छोरालाई छिटै नै यो ठाँउमा ल्याउने छु भन्ने रुपेशले सोचीरहेका छन । पासपोर्ट छिटै हात पर्ने यो तरिका थाहा पाएर रुपेशले बा र निर्मला संग सल्लाह लिएर गाउबाटै पैसा मगाए । यसै गरि उनले दुई किस्ता बुझाइ सके । अबको तेस्रो किस्ता वा अन्तिम किस्ता भोली एजेन्सी संग गएर फतिमाको हातमा राखीदिएपछि वकीलले उनीहरुको सम्बन्ध विच्छेद गरिदिनेछन् । यसको लागी रुपेशले सबै पैसा जम्मा गरिसकेका छन् ।
रुपेशलाई भोली आउने दिन पनि कति लामो लागी रहेको छ । आफु विदेश लाग्ने दिनमा काखमा लिएको दुई महिनाको छोरा लाई कोक्रोमा राख्दै बाबु म तिमीलाई लिन छिटै आउछु है भनेका कुराहरु र विदाईका बेला बा,आमा र निर्मलाका आँखामा टलपलाएका आँसुले उनलाई कति समय पिडा बोध भईरहेको थियो । भोली यति बेला सम्म त मैले घरमा खुशीको कुरा सुनाउन पाउने छु त्यसपछि त …….अनेक कल्पना गर्दै खाटमा पल्टीरहेका थिए रुपेश ।

भित्तामा भएको घडीले रातको दुई बजाईसकेको थियो । कोठामा कसैले ढोका ढकढकायो । खोलेर हेर्दा त्यहा फतिमा थिइन । यतिलामो समय सम्म गरेको माया अब केही समय पछि टाढा हुदै जाने छ । सायद यहि कुराले फतिमा लाई केही नरमाइलो लागेर आजको रात म संगै विताउन आएकी होली भन्ने सम्झेर उनलाई बस्न ठाँउ देखाउछन् । फतिमाले आफ्नो ब्यागबाट पैसा निकालेर रुपेशलाई दिन्छिन । रुपेशले केही कुरा नबुझी ट्वाल्ल परेर बस्छन् । रुपेश तिमीले मलाई अहिले सम्म बुझाएको यो पैसा फिर्ता लेउ । धन सम्पती सबै थोक होइन रहेछ भन्ने कुरा मैले बल्ल बुझे । म तिमीबाट टाढा हुन सक्तिन । मलाई माफ गर रुपेश । मैले पैसाको लागी तिमी संग गाँसेको सम्बन्ध अब विच्छेद गर्न सक्तिन । म जे पनि गर्न तयार छु तर तिमी बाट टाढा…… । फतिमाको कुराले रुपेशलाई अचानक संसारको बोझ आफ्नो टाउकोमा भए जस्तै गह्रौ हुदै आयो । उसले आजसम्म देखेको सपना र तय गरेको यात्रा पुरा गर्न सकेन । दिमागमा उचारचढावहरु आईरहे । मनमा अनेक किसिमका छालहरु छचल्की रहे ।

अब यो अन्तिम क्षणमा उसले फतिमालाई सम्झाएर पहिलेको सर्त अनुसार सम्बन्ध विच्छेद गराउनु नै पर्छ । रुपेशले फतिमा तिर हेर्दै फतिमा के भनेकी तिमीले ? मेरी निर्मला, मेरो छोरो…. यति बेलासम्म फतिमा ढोका खुल्लै छाडेर हिडिसकेकी थिईन् ।

पोर्चुगल

(स्रोत : Paniphoto.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.