यति मेरो उति मेरो, भन्दा भन्दै गल्छ मानिस
आखिरीमा हात खोली, चितामाथि बल्छ मानिस ।
जिन्दगीलाई नबुझेर, बेहोशिमै जिउंदा जिउंदै
कर्तव्यको पथ छोडी, आफुखुशी चल्छ मानिस ।
जवानीको जोश जांगर, त्यसै खेर फालेपछि
गन्तव्यको मुख मोडी, छांगाबाट ढल्छ मानिस ।
आफु मात्रै सुखी बनी, बाँच्ने उस्को चाहनाले
विवेकमा विष घोली, अरु हाँस्दा जल्छ मानिस ।
शान मान प्रतिष्ठाको, भोको भई अरुलाई
चिप्लो घस्तै मीठो बोली, सकेसम्म दल्छ मानिस ।
(स्रोत : रचनाकारको फसबुकबाट सभार )