कालरात्रीको त्यो शृंखला
एउटा आतेस अनि घात बनेर आयो
डर अनि मनको अस्थिर पन
मुटु दुखिरहेथ्यो
जिजीविषा झुकिरहेथ्यो
सर्पले खेदिरहेछ
डस्ने मनसाय बोकेर
फंडा फुलाउदै
नजर चारै तिर डुलाउँदै
मलाईनै लक्ष्य गरेर अघि बढिरहेछ सर्प
म अत्तालिएँ
होश हवाश गुमाएँ
त्यो कालो सर्प,बिषालु सर्प
हुन सक्छ त्यो गोमन सर्प
आफ्नो निसानामा स्पस्ट छ
म पसिना पसिना भएँ
पर्यावरणको कुरा
साझा पृथ्वीको कुरा
प्राणीहरुको बाँच्ने आधार
अनि इकोसिस्टम
मलाई हत्यारा बन्नु थिएन
मलाई सर्प संग भिड्नु पनि थिएन
बरु भाग्नु निको ठानेर भागिरहें
मनमा जीवन्त भंगलाहरु संगाल्दै
घरि दोबाटोमा छलिएँ
घरि झाडीमा अल्झिएँ
घरि जिन्दगीसंग बल्झिएँ
तर पनि सर्प प्रति आक्रोश थिएन
बिष अनि सर्प र औषधिको कुरा
सर्पको काँचुली र मान्छेको कायापलट
नानाथरि मनमा तरंगहरु छाइरहन्छन
इश्वरको सृष्टि
सुन्दर एवम डरलाग्दो आकृति हो सर्प
सपेराको संसार
सर्प नाचिरहेछन
तर मैले सर्पलाई चिन्न सकिन
सीधा बाटो हिंड्न खोजेर
सत्यलाई अंगालेर
न त सर्पकै बिष्लेषण गर्ने क्षमता राखें
सर्पले अगाडि बढ्दै गरेको देख्यो मलाई
म अघि अघि कुद्नुनै सर्पको लागि शंका बन्यो,
डर बन्यो अनि खतरा बन्यो
खतरा मुक्त हुन आज उ युद्ध मैदानमा छ
म भागिरहेछु
ओठ तालु सुकेर
अमनचैन दुखेर
मेरो धड्कन बढिरहेछ
म कसरी सम्झाउ सर्पलाई
घस्री घस्री ज्यान छोडेर मलाई डस्ने लक्ष्यमा छ सर्प
बटारिएको छ मोडिएको छ
थुक्क साला जिन्दगी
अरुलाई नमारेरै बाँच्ने रहर मेरो
अरुलाई नदुखाएरै जिउने रहर मेरो
पुरै हुन सकेन
अब मैले सर्प संग भिड्नु थियो
ठुलो साहश बोकेर लाठी सहित सर्प तिर फर्कने के खोजेको थिएँ
सर्प त्यहाँ थिएन
तर मेरा आँखाहरु सर्वत्र छरिए
अब पो म चिच्याउन पुगेछु
झल्यास्स बिउझिएँ
शरीर पानी पानी भएछ
दुनियाँको व्यस्त नगरी लण्डनमा
मान्छेहरु नियमनमा छन्
ट्रेनको उही परिचित आवाज
र गाडीहरु सडकमा घुइँकिरहेछन
सर्प डर अनि मान्छेका प्रवृतिहरु
मान्छेका भोगाइहरु
सर्पलाई हेर्ने मान्छेका दृष्टिकोण
एउटा वितृष्णा जीवनको
कहानी अधुरो रह्यो विहानको |
(हाल: यूके)
(‘डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा)
(स्रोत : Kabitaharu )