सम्झनाको शीत खस्दा, थापें मैले हात भरी।
तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी।
कल्पनाको वस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी
स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी
पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी
टुक्रा टुक्रा टिपी हेरें, जून फुल्दा रात भरी।
आकशको तारासंग, तिम्रो बारे सोधी हेरें,
बादलको घुम्टो भित्र, तिमीलाई खोजी हेरें।
आफै कोरें तिम्रो बिम्ब, पिपलको पात भरी,
त्यहिँ भेटें तिमीलाई, जून फुल्दा रात भरी।
सम्झनाको शीत खस्दा थापें मैले हात भरी ।
तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी ।
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)