हामी नेपाली कति सौखिन है ! त्यस्मा पनि अलिकती पैसा भयो भने त झन कुरै नगरुं ! अनि झन यूरोप अमेरिका तिर सफा सुद्ध बातावरणमा सहजताको जिन्दगी बिताउने बानि परेपछि त हाम्रो मुलुक तिर झर्दा साह्रै गाह्रो लाग्ने । नेपाल गयो कि ट्याक्सी मात्र चढ्ने बानि लागेको दुई दशक जति भयो होला, बस नचढेको त कति भएछ कति – याद पनि छैन ।
फेरि ट्याक्सी कति महँगो, अनि “मिटरमा जान्न, अलि मिलाएर दिनेभए मात्र जान्छु ” रे ! ट्याक्सीवालाहरु दिउसै – एकदम सेन्टर जस्तै- नयाँ सडक (New Road) नै जान परेपनि, ठगी खाने मेलो । नेपाल एक महिना बस्दा कम्तिमा एक लाख रुपैयाँ त ट्याक्सीमै सकिने रैछ !
ल धेरै भयो ट्याक्सी, आज त म सँग समयपनि छ, हतार पनि छैन, धेरै लागे एक घण्टामा पुर्याइ पनि हाल्ला.. बस चढेँ ।
बस खाली खाली पनि रैछ – त्यती थोत्रे पनि हैन । ट्याक्सी पो कुन गतिला छन र ! सबै थोत्रा कुचिएका ट्याक्सी मात्रै छन् राजधानीमा । एक छण त बडा रमाइलो पो लाग्यो मलाई त, गीत बजिरहेको थियो । ति दिनहरुको सम्झना आयो जब बिराटनगर बाट पूर्व झापा तिर कहिले कहिं जाँदा आउँदा बस चढ्नलाई हामी कुर्थयौं – बस छानेर मात्र चढ्थ्यौ, “यो बसमा त क्यासेट नै छैन, अर्कोमा जाउँन ..। ” अनी क्यासेट भएको बसमा गीत सुन्दै जान क्या रमाइलो लाग्थ्यो ।
बस यसो २-३ मिनट मात्र हिँडेको थियो, रोक्यो र – “आउनुस्.. आउनुस् , सात दोबाटो, कोटेश्वर, गौसाला ….” कराउन थाले खलासी भाईले – ५-५ मिनटमै रोक्दै अनि १०-१५ मिनेट सम्म कराउँदै मान्छे बोलाउँदा रहिछन् ।
अब मान्छेले भरिन थाल्यो बस । सिट सबै भरिएर उम्भिन पनि थाले यात्रुहरु अनि त केही बेरमा टन्न भयो बस । एक छिन् त रमाइलो लागेको थियो, अब भने औडाहा हुन लाग्यो ।
म बाँयाँ पटि बसेको थिएँ, दाँया पटि हेरेको त एक जना बहिनीले उल्टी गर्दै रहिछन् । बिचरा ! उन्लाई भने आपत परेको होला, आफूलाई भने घिन लाग्यो, अर्का तिर फर्किएँ । झ्याल बाट धुवाँ र धूलोले आँखा र नाकमा एक दनक हान्यो, टाउको भारी भएर आयो । छेउमा उम्भिएका एक जना महापुरुस मेरो जिउमा अडेश् लाग्न थाले । “अडेश् नलाग्नुस् न भाई” भनेको , “अब अलि अलि त भै हाल्छ नि भिडमा” – थुतुनो चलाए । के भन्नु, ठीकै पनि हो भन्ने सोची चुप लागेँ । उम्भिने मानिसलाई मात्र हैन, बस्नेले पनि चैन नपाउने रहिछन् बा !
लौ, फसादमा परीयो ! उत्रेर ट्याक्सीमै जाने कि क्या हो जस्तो लाग्न थाल्यो। फेरी भैगयो अब आधा बाटोमा के उत्रनु भन्दै जबर्जस्ती मनलाई थामेर बसीरहेँ।
वाक्क, दिक्क, ब्याक्क ! भएर कलंकी बाट हिँडेको बस सिनामंगल पुग्नलाई १ घण्टा ४५ मिनट लगायो र पुर्याउन चाहिँ पुर्यायो है !
हस्याङ, फस्याङ गर्दै बस बाट झर्न पाउँदा आनन्द लाग्यो ।
बस भित्र घन्केको गीत बाहिर सम्म सुनिरहेको थियो –
बोतलको पानीले, आँखा सन्काइ सानीले
इज्जत गयो पिउने बानीले ….
(स्रोत : रचनाकारको फसबुकबाट सभार )