जीर्ण मेरो घरको सापेक्षमा
किन पर्याय झैँ
मान्छेहरु मलाई नै ठिङ्ग समकोण ठड्याइरहन्छन् ।
म सोचिरहन्छु
आफूमा रावण मस्तिष्क प्रत्यारोपण गर्ने मान्छेहरु
भत्किएका भित्ताभन्दा कमजोर छन्
उध्रिएरै भए पनि झरी रोक्न प्रयासरत
मेरो छानुभन्दा निकृष्ट छन् ।
खुसी छु
विदीर्ण मेरो घरका एकेक अवयव
शब्दका जूही रोपेर
नेपथ्यमा छुरा घोप्ने छायाजीवीलाई हुँकार्दै
मेरा लागि अन्तिमसम्म
प्रकृतिका विपक्षमा सतिसाल उभिरहन्छन्
बदलामा म कल्पनाको तरङ्गमा बिम्बहरू खोजिरहन्छु ।
खोजाइको यही लहरमा
म आफ्नै घरभित्र
प्रिय कविता जन्माउन
उनकै आकृतिमा आफूलाई लीन गराउँदै
सम्भ्रान्त काव्यिक भावनाका अग्निहोत्र जगाइरहन्छु ।
(स्रोत : Umesh Luitel’s Facebook)