~विजय सुब्बा~
अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो
सीमा यो नाघ्नै थ्यो भने चक्चक् नगरे हुन्थ्यो
मान्छेको वेश्यावृत्तिले पर्खाल् भत्काइसक्यो
कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो
रहेन सीमा देशको जिम्मा सरेर जाला
यो बेला नबोल्नेहरू भक्भक् नगरे हुन्थ्यो
जनता सुन्न नसक्ने कुलटाहरू नबाँचुन्
त्यस्ताले यो देशभित्र सक्सक् नगरे हुन्थ्यो
यस्ता कुलङ्गारहरू पुग्यो ननाचे हुने
फुटेर चाँप बरु त छक्छक् नगरे हुन्थ्यो
न हाँस हिंड्यौ विजय न त कुखुरै हिंड्यौ
बेक्कार यो कि त्यो भनी झक्झक् नगरे हुन्थ्यो ।
तेह्रथुम
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )