ऊ वेग लिएर आउँछ,
हामी पर्खाल भएर उभौं।
ऊ विध्वंश छाडेर जान्छ,
हामी त्यहीं निर्माण थालौं।
एक हातमा मल्हम,
अर्को हातमा ज्यावल,
हामी हाम्रै खातिर
एकजुट भएर उठौं ।।
माटोलाई चोट लाग्दा
मुटुलाई विझने गर्छ।
आँशु आंखैमा रोकी
पसिनामा वदल्नुपर्छ।
कतै लडखडाए हामी ,
कहिँ धरमराए हामी ,
दह्रो पारी आफ्नो पाउ
आफै उभिनु पर्छ ।।
पराईले त हौसला दिने हो,
छिमेकीसंग सर-सापट लिने हो।
उजाडिएको वारि, भत्किएको घर
आफ्नै पौरखले फेरि ठड्याउनु पर्छ।
सातै समुद्रपारी किन नपुगुन आफ्ना,
आफ्नालाई खांचो पर्दा दौडेर आउनु पर्छ।
9th Jun 2015 २०७२ जेष्ठ २६
(स्रोत : Himalayakhabar)