आज म पचासी लागेँ
उकालो चढ्दै छु
पहिरो चलिरहेको छ
त्यसको पाखोमा म उक्लिरहेको छु
जति हिँड्दैछु
उद्देश्यको शिखर टाढा हुँदैछ ।
म हिँडिरहन्छु
अनि के हुन्छ ?
मेरो वजनले पहिरो थामिन्छ ।
मेरो वजनले पहिरो गएको होस् !
तर्कको विकल्प छ
विकल्पहीन केही छैन
केवल, मान्छे हिँडिरहनुको विकल्प रहेनछ ।
पहिरो मैले थाम्नु पर्छ
दुष्टात्माहरूले धेरै खनिदिएछन्
ढुङ्गा खलबलिएछन् ।
पुराना वैलिए नयाँ पलाएनन्
चराचर रङहीन विधवा भएको छ
धर्म, संस्कार, सम्मान ओझेलमा परेको छ
नेपालीको आफ्नो पहिचान गुमेको छ
त्यो फेरि फर्काउनु छ, हुर्काउनु छ ।
नयाँ युवा हुर्किरहेका छन्
म आशावादी छु ।
म आफ्नै मेरुदण्ड तेस्र्याईं पुल हालिदिन्छु
युवाहरू धाँजा फाटेको धर्ती पार गरुन् ।
अझै नचुँडिएको त्यान्द्रोले पहाड थाम्ने आशा राखेको छु ।
(स्रोत : मधुपर्क २०७० पुस)