बग्ने पानीमुनिको ढुङ्गोझैँ
लेउ लागेर छोडिएपछि पिँधमा
कहाँ चिसो भन्न पाए र ?
इन्द्रेणी ओराल्ने गरेका
उपत्यका कहाँ बिलाए ?
माझीले चलाउन छोडेको
डुङ्गा किनारमा छोडी
जलकुम्भीझैँ तैरदै
कुन बाटो रोजे
सेता हाँस बनेर,
घरमा पुज्ने भुमें देउता ढोंगी गएपछि
घरमुनि सेताम्मे फुल्ने अम्बकका रुखछेउ
किन फर्किएनन् ?
घण्टी फूल फूल्दै झर्दै गरेको यामको बेवास्ता गरी
आलुबखडाका फूलमा ओर्लने न्यानो घामको छायाँ नाप्दै
किन पश्चिम भञ्ज्याङ तरेर
कोसीको बगरै बगर लस्करै गइरहे
सहनाई बजाउँदै
सेतो फेटा गुतेर
छोडेर गएपछि
नदीले किनार भत्काएको छैन
बढाएको छैन बगर
नीलो दहमा पौडने माछाका भुराहरू बढेका छैनन्
बिहान खस्नुअघि नदीले गाउने भाका फेरिएको छैन
हिँडेभन्दा टाढा पुगेको छैन भञ्ज्याङ छिचोल्ने बाटो
बेहुली चरीले उज्यालोको रङ फेरेको छैन ।
त्यहाँभन्दा पर ठोक्किएको छै बतास
जहाँ छोडिएको थियो ।
-ओखलढुङ्गा
मधुपर्क २०६५ माघ
(स्रोत : मधुपर्क २०६५ माघ )