कथा : आत्मग्लानि

~आयुष्मान रेग्मी~

डाॅ भीमलाललाई नचिन्ने शायद नै कोहि होला । सभ्य समाजका बहुप्रतिष्ठित व्यक्तित्व…साइन्स पढेका भए तापनि धर्म र संस्कारमा निकै विश्वास थियो । उनका बुबा पंडित लक्ष्मीनारायणले उनको सानै उमेरमा व्रतबन्ध गरिदिएका थिए । उनका बुबालाई ‘काँचो माटोलाई यथेच्छा आकार दिन सकिन्छ तर पाकेको माटोलाई फेरि नया आकार दिनु असम्भव हुन्छ’ भन्ने कुरामा निकै विश्वास थियो, अतः उनले आफ्नो छोरालाई संस्कारवान् बनाउन कुनै कसर छाडेनन्। उनका बुबाले दिएका ती संस्कारलाई उनले आजसम्म पालना गर्दै आइरहेका थिए। उनि कहिल्यै बाहिरको खाना खादैंनथे। उनलाई हरेक कुरा चोखो चाहिन्थ्यो। ब्रम्हमुहूर्तमा उठेर नित्यकर्मादिबाट निवृत भएर संन्ध्यावन्धन र स्तोत्रादि पाठ गर्ने उनको दैनिकी नियम थियो।

जुन समाजमा डाॅ साहबको बसोबास थियो, त्यहाँ उनिजस्तो मान्छे दुरबीन लिएर खोजे पनि भेटिदैनथ्यो। बाल्यकालमा भोगेको दुःख, बाल्यकालमा नै छिनिएको ममता र एक्लोपनले गर्दा नै उनमा साहित्यिक भावना पनि थियो, तर प्रजापतिको सृष्टिमा कोई पनि सर्वगुणसम्पन्न र विमल कसरी हन सक्छ र?? आखिर त्रिगुणात्मिका सृष्टि न हो यो।

कति मानिसहरु आफ्नो अवगुणलाई न्यून बनाउन ” चन्द्रमा पनि दागवाला छ” भन्ने गर्छन् तर त्यहि चन्द्रमा बेदाग भएको भए कति अद्भुत् देखिन्थो होला….डाॅ. साहबमा पनि एउटा अवगुण थियो-“परस्त्रीसँग सम्बन्ध।” यति ठुला विद्वान परस्त्रीसम्बध राम्रो होइन भन्ने कुराबाट पक्कै पनि अनभिज्ञ थिएनन् होला तर “कामार्ता हि प्रकृतिकृपणाश्चेतनाऽचेतनेषु”।

सानै उमेरमा विवाह भएको थियो र दुई सन्तान पनि थिए। उमेर ढल्किसकेको थियो। तालु खुइलिएको थियो। अलिकति बचेका रौंहरु कपासझैं सेता भैसकेका थिए। आँखामुनिका काला घेराहरु उनको उमेरको परिचय दिन्थे।

डाॅ. साहबसँग पैसाको कहिल्यै कमि भएन। लक्ष्मीको सदैव कृपादृष्टि भैरहन्थ्यो। आजकल केहि अतिसज्जन व्यक्तिहरुसँगको मित्रताले गर्दा केहि वर्ष यता मधुशाला र वेश्यालय पनि जाने गर्दथे। एकदिन पत्नीलाई साहित्यिक कार्यक्रममा जान्छु भन्दै वेश्यालय पुगे। त्यहाँ आज एउटा नवयौवनाको नीलामि चलिरहेको रहेछ। कालो कपाल, ठूला-ठूला आँखा जसमा गहिरो काजल लगाइदिइएको थियो। खिरिलो नाक, स-साना ओँठ,गोलो अनुहार र निधारको कुनामा कसैको नजर नलागोस् भनेर एउटा सानो कोठी जो शायद विधाताले उसलाई मर्त्यलोकमा पठाउनुपूर्व आँफैले दिएका थिए। तर यहाँ त उसलाई नजर लागिसकेको थियो। उसको अवस्था अहिले लोभी व्यापारीले फक्रन आँटेको गुलाबको कोपिलालाई अर्कैको बगैचाबाट चोरेर बेच्न राखेको जस्तै थियो।

चञ्चलता सँग मित्रता गाँस्ने ती आँखामा भय व्याप्त थियो।उसका अगाडि बसेर गिद्धलेझैँ हेरिरहेका ती उमेर ढल्केका मान्छेहरु उसलाई अहिले राक्षसभन्दा कम लागिरहेका थिएनन्। डाॅ. साहब पनि त्यहीँ थिए। उनले त्यो केटीलाई तलदेखि माथिसम्म हेरे। उनको शरीरमा वासनाको लहर चल्न थाल्यो। मुखबाट र्याल चौहुन थाल्यो मानौं कैयौं दिनको भोको भुस्याहा कुकुरले आज जिउँदो कुखुरो भेट्टाएको थियो।

मुख्य वेश्याले सम्बोधन गर्दै भनि-“तपाईंहरु त आँफै जौहरी हुनुहुन्छ। यो हिराको मोल आँफै लगाउनुहोस्। एउटा कुनाबाट आवाज आयो-“एक लाख, मँ यो चरीको एक लाख मोल लगाउँछु।”

अर्को कुनामा बसेकोले भन्यो-“दुई लाख पचास हजार, यो मेरो नै हो र कुटिल हाँसो हाँस्यो। यसरी नै अरु दुई जनाले पनि बोली लगाए। त्यहाँको दृश्य यस्तो थियो मानौं कुनै पालतु जनावरको बोली लगाइँदै छ। उता बोली लागिरहेको थियो भने डाॅ. साहबको अन्तर्मनमा द्वन्द चलिरहेको थियो-“कति बोली लगाउँ जसले यी आवाजहरुलाई शान्त बनाओस्।”

“सात लाख” सबैको अनुहार डाॅ. साहबतिर गयो र अघिसम्म खुशी ती मुहारहरु मलिन हुँदै गयो। किनकी यति पैसा कसैसँग थिएन। वेश्याले गणना शुरु गरी-“सात लाख-1, सात लाख-2, सात लाख-3। डाॅ. साहबको मुखमा कुटिल हाँसो छायो। उनले जुँगालाई मुसारे विशाल युद्धमा सबैलाई पराजीत गरेझैँ। वेश्याले केटीलाई लतार्दै डाॅ. साहबको अगाडि लगभग फाली दिई। उसको आँखाबाट आँशू झरे। उसले टाउको उठाएर डॉ. साहबलाई हेरी, डाॅ. साहबले उसलाई हेरे र उसको आँशूलाईपनि तर बाघले कहिल्यै आफ्नो शिकारको आँशूलाई हेर्दैन मात्र हेर्छ आफ्नो भोकलाई। यहाँ पनि उहि स्थिति थियो फरक यति मात्र हो कि वहाँ पेटको भोक र यहाँ वासनाको।

डाॅ. साहबले बाघले शिकार च्यापेझैँ उसलाई समातेर माथिको कोठीमा लगेर बिस्तरामा फालिदिए। अहिलेसम्म चुप्प लागेकि केटीले भय र पीडा मिस्श्रित स्वरमा भनि-“अंकल! प्लीज मलाई छाडिदिनुहोस्।” डाॅ. साहबले रक्शी र कामको नशा चिच्याउँदै भने-“साली! अंकल भन्छेस्, तँलाई मैले छोरी बनाउन किनेको होइन बुझिस् र उसको कपडा च्यातिदिए।

अब केटीको आँखामा लाज र डाॅ. साहबको आँखामा पश्चाताप थियो। डाॅ. साहबलाई खुशीले नाचौं कि दुःखले रोउँझै भैरहेको थियो। उनलाई विश्वास लागिरहेको थिएन। सानैमा हराएकि छोरी आज यसरी भेटिन्छे भनेर। त्यो केटीको बाँया स्तनको छेउमा ठुलो चोटको चिन्ह थियो। डाॅ. साहबले तुरुन्त आफ्नो कोटले उसको तन ढाकिदिए।

अघिसम्म उसलाई लुट्न प्रयत्नशील अहिले उसैको अस्मिता बचाउन खोज्दै थियो।

उसलाई त्यहाँबाट छुटाउन उनले पैसालाई पानीझैँ बगाइदिए र अन्ततः छुटाउन पनि सफल भए। आजदेखि उसको नयाँ जीवन शुरू भयो। उसले असाध्यै माया गर्ने दुई भाईहरु र आमा पाएकी थिई तर बाबालाई बाबा भनेर बोलाउन सकेकी थिईन। त्यस दिन पछि डॉ. साहबले रक्शीलाई छोएनन्।

उनमा धेरै परिवर्तन आइसकेको थियो। उनले अनेक कल्याणकारी संस्थाहरुको स्थापना गरे। धेरै पुण्य कमाए तर यो पुण्यले त्यो पाप धोइएन। सबै थोक पाएर पनि उनको मनमा सँधै एउटा काँडा बिजाइरहन्थ्यो….आत्मग्लानिको काँडा।

लेखक- आयुष्मान रेग्मी
आचार्य(साहित्य)

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.