~हरी घिमिरे~
म चढेको बस अगाडि बढ्दै गयो। बसभित्र थुप्रै मानिसहरु थिए। सबै आ-आफ्ना गफमा मस्त देखिन्थे। झुत्रा-झाम्रा कपडा लगाएका गाउँले मान्छेहरु कोही सूर्ति खाँदै थिए भने कोही बिडी तान्दै थिए। वातावरण एकदमै उकुसमुकुस थियो। म शिक्षक भएका नाताले कपडाका दृष्टिले अलिक सुकिलो-मुकिलो देखिन्थें।
केही समयपछि बसको एउटा कुनाबाट एउटा मान्छे रुँदै कराउँदै उफ्रन थाल्यो। सबैको ध्यान त्यतातिर गयो। त्यसबेलासम्म बस निकै टाढा पुगिसकेको थियो। पहिले त म केही पनि बोलिन। तर गाउँलेहरुले जति सम्झाए पनि त्यो मान्छेले रुन -कराउन न छोडेपछि मैले सोधें- “के भयो?”
” पैसा हरायो रे” एकजना गाउँलेले मलाई जानकारी दिएजस्तो गरेर भन्यो।
“अनि पैसा हराउँदैमा यसरि रुनु पर्छ त?” मैले उसलाई सम्झाउँन खोजें। तर ऊ झन मच्चिएर रुन थाल्यो।
उसले भन्यो “अब म घर कसरी फर्किने?,मसँग टिकट काट्ने पैसा पनि छैन”
“टिकटको पैसा कति लाग्छ?” मैले सहानुभूति देखाउँदै सोधें।
“पचहत्तर रुपियाँ” उसले रुँदै भन्यो।
“ल भैगो, म दिन्छु पचहत्तर रुपियाँ, तपाईं नरुनुहोस्।” मैले उसलाई पैसा झिकेर दिदै भनें।
उसले पैसा समायो र रुन पनि बन्द गर्यो। वरिपरि सबै यात्री अबाक् भएर हेरिरहेका थिए।
केही समयपछि बस रोकियो। मेरो ओर्लिने बेला भएको थियो। म बसबाट झर्दै थिएँ एक्कासी मेरो कानमा बसभित्रका मान्छेको आवाज ठोक्कियो-“देख्यौ, उसले पैसा नचोरेको भए त्यसै दिन्थ्यो?”।
भर्जिनिया
(स्रोत : KhassKhass.com )