~सन्तोष स्पन्दन~
आँधीखोलाको किनारै -किनार
अनि बालुवाको कण-कणसंग मितेरी गास्दै
कहिले गहिराईमा कहिले समतलमा
अनि कहिले खोंच र कन्दराहरुमा
अन्धा-अन्धिको आँशुको प्रवाहित बनेर
त्यो बहावले
घिसार्दै-घिसार्दै एक अनेकौ जीबात्माहरु
खोलाको बाडबनेर , बाडखोलाबाट त कतै
सिरुबारिका मुहान अर्घौदिको छहरा बनेर
अर्जुन चौतारीका धानका लहरहरु ढाकेर
हेलुको फाँटबाट भर्खर
हिजो भर्खर
आधा दर्जन अबशेसहरु
शिबघाटमा शिबधाम पुगे
सरर- सरर बहने वायुको गति संगै
ढुंगामा ठोकिदै त दाउरामा अल्झिदै
अनि च्यातिएको साडीबाट सर्बांग बलात्कृत बनेर
निर्मम हत्याका संरचना बोकेर
कठै , आँधीखोलाको किनारै -किनार
तर कोहि जिउदो लास भै जलिरहेकहरु
अनकन्टार जंगलमा लुटीइएकाहरु
विभत्स हत्या पासविक तबरले
खोजि नहुने गरि
गिद्द र बाझको शिकारमा
पहिचान लुटीइएकहरु
हड्डी र जोर्निहरुको भयाबह ओकल्दै
किर्किर कटुसको पातमा झैँ
दुर्भाग्य कोरिएका निधारहरु
बिद्रोह बान्ता गर्न कंकाल बनेर
लहराएका छालहरुमा बगिरहन्छन
आँधीखोलाको किनारै -किनार
एक जन्मछ ,अनि अर्को गदै मर्छन
हाम्रा रगत र बंसजहरु
घोलत्तिन्छन खरानी भएर
कसैका आँशु र कसैका ममता बगाउदै
बिधुवा राँडी , र टुहुराहरु बनाउदै
कतै बग्छन ,कतै छोडिन्छन
आँधीखोलाको किनारै-किनार
स-साना दुर्भाग्यहरू
जम्मा हुदै एउटा घाटलाई पछ्याई रहेछ
कालहरुका परिधिलाई किचेर
कुल पुर्खा र बंशाबली लेख्न
छङ्छङ् र घङ्घङ्को आवाजलाई बिर्सेर
हिलो र ढुंगाहरुलाई परेडखेलाउदै
वालिंग ,गल्याङ् र मिर्मि हुदै कालिगण्डकी पुग्छन
हाम्रा सयौ ,लाखौ पुर्खाहरु भेट्न
आँधीखोलाको किनारै-किनार
(स्रोत : Santosh Spandan’s Blog)