हरेक साल निस्कन्छ
एउटा मान्छे
मेरो विश्वासको ढोकाबाट
र, हल्लाउँछ आफै बसेको घर
म भरिरहेको हुन्छु
जिन्दगीको रङ
त्यही घरको झ्यालमा उभिएर ।
जव काँप्छन् मेरा कुची र ब्रसहरु
छताछुल्ला पोखिन्छन् रङ
छरिएर समगर सागरसरी
मेरो आगानमा जिन्दगीको रङ ।
भरेर एक अञ्जुली पानी
सिंगो जीवनको कुवाबाट
समताको चोकमा उभिएर
एकताको सिट्ठी बजाउँदा पनि
रोकिएनन् सग्ला गाडीहरु ।
जव पहाडमा जमेका
हिउँका भर्याङहरु उभिएर
शोकको घण्टी बजाउँछन्
पगालेर बरफहरु अंकमाल गर्छन्
विकर्षणको क्षितिजसँग
तव उदाउँछ
विद्रोहको ज्वालामुखी
मेरो जीवनको बार्दलीमा ।
हरेक दिन पाक्छ भात
मेरो जिन्दगीको कसौडीमा
उडेर जान्छ सपना
प्रेसर कुकरको सिट्ठीसँगै
उम्लेर पोखिन्छ उद्देश्यको दाल
सिलौटामा पिसिन्छन्
लक्ष्यजति सबै सबै ।
कोइरालो पनि फुलेको छैन यसपाली
खोरिया बारी त बाँझै छ
बदलिएको छैन माटोको रङ
जसरी बदलियो मेरो जीवनको रङ
र, पोखियो आँगनभरि
लगाएर अनौठो चुकुल ढोकामा
उभिह्यो समय
बन्द झयलहरु नियालेर ।
दूर क्षितिजबाट उठेर एउटी आइमाई
जिन्दगीको सत्य सावित गर्न
साक्षी बोलाउँदैछिन् प्रयोगशालामा
सौन्दर्यको घुम्टो फुकालेर
बादलले बन्दी बनाएको ताराहरु
हरेक विहान हराएर जान्छन्
जसरी हराएको छ चाँदीको फ्रेमभित्र
कैद भएर त्यही मान्छे
जिन्दगीको प्रेमील छायाँभित्र ।
(स्रोत : Chakrapath )