‘‘भोलि म घर जाँदैछु– अति प्रिय विराटनगर…!’’ साथीभाइसित भनेँ । अफिसमा त बिदा मिलाइसकेको थिएँ । दुई वर्ष भइसकेको थियो विराटनगर नगएको – आफ्नो जन्म ठाउँसित टाढिएको । यो चौबीस महिनादेखिको ‘ग्याप’ ले मलाई चिमोटिरहेको थियो । विराटनगर जाने अर्थात् घर जाने चाँजो मिलेकोमा दङ्ग थिएँ । नभए त जति मन गरे पनि उही– अर्थात् कहिले बिदा नमिल्ने, कहिले ‘धन’ नमिल्ने । यो कार्यालयले गरेको ‘बिदा लिनै पर्ने अन्यथा ल्याप्स हुने’ व्यवस्थाले पनि मलाई मौका दिएको थियो घर जान ।
श्रीमतीले अर्थात् रुक्मिणीले त भनेकी थिई, ‘‘अहिले नगए हुँदैन ? दशैँमा सबैजना गए पनि त हुन्छ नि…हुन्न…?’’
मैले भनिदिएको थिएँ– ‘‘हुन्न ! बा बिरामी हुनुभएको खबर तिमीलाई थाहा छैन…?’’
ऊ त्यसपछि बोलेकी थिइन । यो बिरामी नै यस्तो हतियार हो जहाँ सबैको मुख बन्द हुन्छ । कुनै काम प¥यो भने बिदा माग्नुपर्दा पनि बिरामी बिदा लिए भइहाल्यो । हाकिमको पनि मुख बन्द । तर रुक्मिणीलाई बालाई सञ्चो भइसकेको खबरचाहिँ मैले सुनाएको थिइँन । त्यो सुनाइदिए फेरि उही स्वर उसको मुखबाट ओकलिने प्रष्ट नै थियो, ‘‘अब एकै पल्ट दशैँमा गए हुन्न…?’’
त्यसैले मैले बाको बिरामीको सहारा लिएँ र घर जाने अडान पनि । दशैँमा घर जाने कुरा पनि विगत दुई दशैँदेखि ‘फेल’ हुँदै गएको थियो । मुख्य कुरा त आर्थिक नै थियो । मेरो वा हाम्रो स–सानो परिवारलाई दशैँमा घर जान फेल गराइदिने अर्थोक केही नभएर ‘धन’ नै थियो । ना.सु. को जागिर र काठमाडौँको बसाई । तीन छोराछोरीको… होइन, होइन, दुई छोराछोरीको लालन–पालन, स्कुलको फीस, टिफिन, लुगाफाटोको जोहो गर्दैमा सधैँ हैरान । जम्मा एस.एल.सी.पास श्रीमती त्यो पनि सरकारी स्कुलबाट, लाई जति जोडजुलुम गर्दा पनि जागिर ख्वाउन सकिएको थिएन । फेरि नर्सरी र ‘थ्री’ मा पढ्ने भन्ट्याङभुन्टुङ छोराछोरीको हेरविचारका लागि पनि उसले जागिर नपाउनु ठीकै भएको लाग्थ्यो । अलिक हुर्किएपछि चाहिँ केही न केही गर्नैपर्छ – यस्तै सोचेकी थिई रुक्मिणीले; र मैले पनि ।
‘‘पैसा त छैन नि मसित…!’’ रुक्मिणी भनिरहेकी थिई घर जान मलाई दिने पैसा ऊसित छैन रे !
म उसको कुराले मुसुमुसु हाँसिदिएँ, ‘‘धत् लाटी ! मलाई थाहा छैन र तिमीसित पैसा छैन भनेर…!’’
ऊ झस्किई र संशयपूर्ण नेत्रले मेरो आँखामा आँखा गाडेर हेरी । मानौँ भन्दैहोस्– ‘कतै महिना–महिना मेरो पोल्टामा म सक्दिन घर चलाउन तिमी नै चलाऊ भन्दै हाल्दिने तलबबाट पनि कटौती त गरेनौ बूढा…?’
‘‘होइन, होइन, तलबबाट होइन ओ.टी.बाट क्या लाटी…! अफिसबाट ६ महिनाको ओ.टी. एकैचोटि हिसाब गरेर पाइयो । त्यसैबाट घर जाने, तिमीले दिनु पर्दैन…!’’
म मुस्कुराउँदै बोलिरहेथेँ । उसको अनुहार एक्कैछिन् धपक्क भएर बल्यो तर निमेषमै फेरि निभ्यो । मैले पढेँ । र, खिन्न भएँ । मलाई पनि यो जम्माजम्मी दुईहजार ओभरटाइमबापतको रकम घर जाँदा सित्तैमा सकिने भयो भन्ने पीडाले नजानिँदो किसिमले छोयो । रुक्मिणीलाई पनि त्यस्तै भएको हुनुपर्छ । उसले एउटा गतिलो कुर्ता–सुरुवाल त्यस दुई हजारले किन्नु हुन्थ्यो भन्ने सोचेर धपक्क अनुहार उज्यालो पारेकी हुन सक्छ । वा छोराछोरीका लागि अतिरिक्त पौष्टिक खानेकुरा हर्लिक्स, बुष्ट किनिदिनुहुन्थ्यो भन्ने सोचेकी हुन सक्छ । अथवा बूढा, तिम्रो रेडिमेड पाइन्ट सर्ट लगाउने रहर रहर नै हुने भयो कहिल्यै सकेनौ, त्यही ओभरटाइमको पैसाले किन्न पाए पनि त हुन्थ्यो, म पनि तिमीलाई रेडिमेड पहिरनमा हेर्ने रहर पु¥याउने थिएँ – भन्ने पनि सोचेकी हुन सक्छ । नभए, कहिल्यै धीत मर्ने गरी आँप खान पाइएन, यो सिजनमा धेरै आँप फलेको छ सस्तो पनि छ भन्छन् अरू सालभन्दा, यसो हजार रुपैयाँको काँचै आँप किनेर धीत मरुञ्जेल पाक्दै खाँदै गर्न पाए पनि हुने थियो भन्ने पनि सोचेकी हुन सक्छ…।
जे होस्– बूढा भएका बाआमा भेट्ने रहर, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र आफन्तसित केही दिन बिताउने रहर, केही नभए पनि आफू जन्मेको, हुर्केको ठाउँको न्यानोपनसित केही दिन गाला जोड्ने रहरको हुट्हुटीले जित्यो र म काँधमा झोला लट्काएर हिँडेँ– कौशलटारबाट कोटेश्वर, कोटेश्वरबाट कलङ्की र अनि कलङ्कीबाट मकालु बस चढेर सररर विराटनगर….!
कौशलटारस्थित डेराबाट हिँड्ने बेलामा छोराछोरीले रडाको मच्चाए, ‘‘म पनि जाने हजुरबालाई भेट्न, म पनि जाने हजुरआमालाई भेट्न…!’’
रुक्मिणीलाई केटाकेटी पक्डिँदाको हैरान…! आखिर रुवाउँदै हिँडेँ छोराछोरी । बाआमासित भेट्ने तीव्र हुटहुटीले जित्यो, छोराछोरीको रोदनले मन अमिलो त भयो तर डिगिन ।
‘‘राम्ररी बस्नू, म आइहाल्छु, पीर नगर्नू, आमालाई दुःख नदिनू…!’’ यसरी नै बोल्दै, छोराछोरीलाई छल्दै गति तेज बढाएथेँ…! र, यति बेला मकालु बस तेज गतिमा कुदिरहेछ । म आँखा चिम्म गर्दै, आँखा उघार्दै यात्रामग्न छु ।
+ +
बसले भृकुटीचोकमा उतारिदियो । त्यतिबेला बेलुकीको ७ बजिसकेको थियो ।
रिक्सावालाहरू कराइरहेथे, ‘‘होस्पिटल, होस्पिटल…! कहाँ जेबे (जाने)…!’’ मैले
एउटा खाली रिक्सा पक्डिएँ र रिक्सावालालाई अह्राएँ, ‘‘चल शान्तिचौक !’’ (हिँड, शान्तिचोक !)
शान्तिचोकबाट अलिकति पश्चिम र फेरि दक्षिण मोडिएर पश्चिम लागेपछि मेरो अति प्रिय घर आइपुग्यो । म रिक्साबाट ओर्लिएँ र उसलाई दश रुपैयाँ हातमा राखिदिएँ ।
उसले भन्यो, ‘‘हे, और दियो !’’ (हे, अरू दिनुस् !)
‘‘कत्तेक दियो ? कत्तेक ढेउआ और चाही ?’’ (कति दिनु ? कति पैसा अरू चाहियो ?) भन्दै मैले अरू पैसा निकालेँ । घरको अगाडि सडकमा उभिएर म रिक्सावालासित धेरै ‘गलफत्ती’ गर्ने मुडमा थिइनँ ।
उसले ‘‘दियौ दश टका और’’ (दिनू दश रुपैयाँ अरू) भन्नासाथ मैले फेरि उसको हातमा दश रुपैयाँ राखिदिएँ र भनेँ, ‘‘ठकै छ हम्रा ? ल्या ले मोज कर्…!’’ (ठग्छस् मलाई ? ली ले, मोज गर्…!) ऊ आफूले बढी मागेको चोर पक्डाउ खाएकोमा लाज पचाएर हाँसिरहेको थियो ।
घरको आँगनमा पाइला टेक्नासाथ केटाकेटीले घेरे । ‘‘ठुलो बुबा ! ठूलो बुबा ! काठमान्डूबाट आउनुभएको…?’’
बा पिँढीमा राखिएको खाटमा हुनुहुन्थ्यो, खाँबोमा अडेस लागेर बसिरहनुभएको । खुट्टामा ढोगिदिएँ । आमा अघि नै अनुहार हँसिलो पार्दै हेर्दै हुनुहुन्थ्यो, उहाँलाई पनि खुट्टामा ढोगिदिएँ…।
त्यसपछि केटाकेटीले पनि लाम लागेर मेरो खुट्टामा ढोग्न थाले ।‘‘ए हुन्न, हुन्न, तैँले नमस्ते गर्…!’’ छोरी खाललाई आमा सम्झाउँदै हुनुहुन्थ्यो । खपडाको लामो एउटा घर, छोटो अर्को दुइटा घर ! घर–घरबाट अनुहारहरूले चियाए । चियाउनेमा कोही भाइ थिए, कोही बुहारी थिए, कोही तिनका ससुरालीपट्टिका आफन्त थिए हुनन् । पालैपालो तिनले पनि ढोग भेट गरे । म घरको जेष्ठ सुपुत्र थिएँ । त्यसैले मैले ढोग्नुपर्ने बा र आमा बाहेक अरू कोही थिएनन् ।मैले केटाकेटीलाई चकलेट बाँडिदिएँ, जुन भृकुटीचोकमा उत्रिएपछि किनेको थिएँ । आमाको हातमा आधा किलो पेँडाको पाकेट राखिदिएँ, जुन सप्तरीको बरमझियामा किनेको थिएँ ।
केटाकेटीले रमाउँदै चकलेट खाए । उनीहरू रमाइरहेका देखिन्थे । तर केटाकेटीका मम्मीहरूले उनीहरूलाई तानिरहेको देख्दा लाग्यो– मम्मीहरू रमाइरहेका थिएनन् । सायद उनीहरूले सोचिरहेका थिए– त्यो जाबो चकलेट त यहीँ पाइहालिन्छ नि, काठमाडौँको गुँदपाक पो ल्याउनु पर्छ, खोइ गुँदपाक ? खोइ काठमाडौँको पुष्टकारी ? अथवा ‘हामीलाई चाहिँ केही छैन, पर्दैन खानु त्यो मूला चकलेट’ भन्दै केटाकेटीहरूलाई तानिरहेको हुनसक्छ ।
‘‘अनि दाजु ! आजकाल त मोटाउनुभएछ नि…?’’ भाइ प्रमोदले भन्यो । मानौँ व्यङ्ग्य ग¥यो ।
‘‘काठमाडौँको हावापानी राम्रो छ, अनि के नमोटाउनु !’’ बद्री बोल्यो । मलाई लाग्यो ऊ पनि व्यङ्ग्य गर्दैछ । चिसो हावा, कठ्याङ्ग्रिने जाडो, खटाई–खटाई प्राप्त हुने त्यो पनि नउमाली खानै नमिल्ने प्रदूषित पानीको समस्या – खै कसरी भनूँ हावापानी राम्रो काठमाडौँको । आर्थिक रूपले सम्पन्न हुइँदो हो त हुँदो हो राम्रो काठमाडौँ । नत्र, अभावमा जिन्दगी बिताउनुपर्दा त खोइ के राम्रो छ भन्नु काठमाडौँ – मैले मनमनमा सोचेँ मात्र प्रकटमा केही बोलिनँ । केवल हाँसिदिएँ, हाँसिरहेँ…।
अब आमाको पालो । अँ, आमाको पालो त्यो मैले ल्याइदिएको बरमझियाको पेँडाको पाकेट खोलेर धमाधम सबैलाई बाँडिदिन थाल्नुभएछ । कति हुन्छ त्यो आधा किलो । सोचेथेँ– आमाले सुटुक्क राख्नु हुनेछ । बालाई ख्वाउनु हुनेछ, आफू खानुहुनेछ ।
‘‘बालाई दिनु न बालाई, तपाईं पनि खानु !’’ मैले आत्तिएर भनेँ ।
‘‘आ, पर्दैन, पर्दैन…!’’ बाले यति बोल्नुभयो । सधैँ पेँडा मनपराउने बा किन ‘पर्दैन, पर्दैन’ भन्दै हुनुहुन्छ…? आमा, जे कुरा पनि लुकाएर बालाई ख्वाउने गर्नुहुन्थ्यो अघि–अघि, आज किन लुटाउँदै हुनुहुन्छ…? मलाई कता–कता नरमाइलो लाग्छ । सधैँ मोटाए पनि ‘दुब्लाइस् त बाबू’ भन्ने आमा आज आफ्नो छोरोलाई केही भनिरहनुभएको थिएन । शुरुमा हँसिली लाग्नुभयो तर पछि अनुहार खुलेको लागेन ।
मन खिन्न हुँदै जान्छ । खासै भलाकुसारी पनि हुँदैन । तर पनि म ‘बाको स्वास्थ्य अहिले कस्तो छ ?’ सोध्छु ।‘‘के हुनु, जे छ ठिकै छ…!’’ अलिक टर्रो टर्रो लाग्छ बाको बोली ।
‘‘आमा ! तपाईंलाई त ठिकै छ होइन ?’’
‘‘के हुन्छ र मलाई ठीक नभए…?’’ आमाको स्वर उल्टो सुन्छु । मैले जागिर खाएको पनि दुई वर्ष र काठमाडौं बसेको पनि दुई वर्ष बितिसकेको हुन्छ । यस अवधिपूर्व कहिल्यै यस्तो नमीठो लागेको थिएन मलाई मेरी आमाको स्वर । लोकसेवा आयोग दिएर ना.सु.मा पास गरेपछि मेरो पोस्टिङ नै काठमाडौंमा भएको थियो । जागिर खान गएपछि लगत्तै पहिलोपल्ट स्वास्नी, छोराछोरी लिन म घर आएथेँ । त्यसपछि त यो अहिले नै हो मेरो घर आगमन । मेरो बेरोजगारी अवस्थामा बरु यति रूखो लागेनन् कोही…। त्यतिबेला बाआमामा आश्रित थिएँ म तर पनि आमाको स्नेहको हात ममाथि थियो । बाको अभिभावकत्व ममाथि कहिल्यै टुटेन । म, मेरो स्वास्नी, छोराछोरी कोही ‘भार’ थिएनौं बाआमाका लागि । बाले खेतीपातीबाटै सारा परिवारको लालनपालन गर्नुभएको थियो । जेजति उब्जिन्थ्यो त्यसैबाट दुःखसुख हाम्रो गुजारा चल्थ्यो । तर पनि बा खुशी, आमा खुशी, दाजुभाइ सबै खुशी । आज मलाई बाआमाले केही गर्नु पर्दैन । म आफ्नो खुट्टामा उभिएको छु, मेरा स्वास्नी, छोराछोरीलाई दुःखसुख मै पाल्दैछु । तर पनि किन बाआमाको व्यवहार टर्रो, नमीठो…?
राति रुक्मिणीले फोन गरी– ‘‘किन फोन गर्नु पर्दैन पुगेपछि…याँ आफूलाई कत्रो चिन्ता…?’’
‘‘लौ लौ, चिन्ता नलेऊ, राम्रैसित आइपुगेँ’’ भन्छु । प्यारा छोराछोरीसित पनि संक्षिप्त बात मार्छु ।
त्यो रात त्यसै बित्छ । भोलिपल्ट भातसात खाइवरी निक्लिन्छु बजारतिर ।
बजारअड्डाचोक पुग्छु । बजारअड्डाचोकतिर त मेरो बाल्यकाल नै बितेको थियो– सम्झिन्छु । ‘दिनेशको जुत्ता कम्पनी’ को शोरुममा पनि अनावश्यक बसेर बिताइयो अलिक पछि कलेज पढ्दाताका । अशेषसितको हिमचिम पनि त्यही दिनेशको जुत्ता कम्पनीबाट भएको सम्झिन्छु । मोहन कहाँ छ मोहन मेरो लँगौटिया साथी ? दुई–दुई वर्षदेखि ऊसित पनि भेट छैन । उसको घर पहिले त यहीँ थियो, बजारअड्डाचोकदेखि थोरै दक्षिण– अहिले त उनीहरू सबै–सबै तीनटोलियामा बस्न थालेका छन् । हेरौँ दिनभरिमा, साँझ–साँझसम्ममा को भेटिने हो ? म समय व्यतित गर्न थाल्दछु– कहिले साझाप्रकाशनको बिक्री कक्षतिर, कहिले वाणी प्रकाशनतिर…। दिनभरि यता र उता गर्दा पनि कोही भेट हुँदैन ।
साँझ–साँझमा टुप्लुक्क मोहन आइपुग्छ– उही महाराजको चिया दोकानमा, म त्यहीँ महाराजसित बात मार्दै समय कटाइरहेको हुन्छु । यो महाराजसितको पुरानो सम्बन्ध हो । पहिले ऊ हाम्रो स्कुलअघि सडकमा चटपटी बेच्दथ्यो । धेरै पछि उसको बढुवा चियादोकानमा भएको छ ।
मोहनले आउनासाथै धाप मार्छ– ‘‘तँ कहिले आइस् ?’’
बल्ल त आफ्नो माटोको सुवास पाएँ, हुन्छु र बोल्छु– ‘‘हिजो, बेलुका…!’’
‘‘अँ स्सा…हिरो भइछस् त…!’’अलिकति बिझ्छ । सोच्दछु– होइन होला, मेरो लङ्गौटिया साथीले व्यङ्ग्य गरेको होइन होला !
‘‘अनि भाउजूलाई, केटाकेटीहरूलाई के छ, कस्तो छ ?’’ सोध्छु ।
‘‘बाँचिएकै छ…!’’ यत्ति बोल्छ ऊ र चुप्प लाग्छ । मानौँ मेरो प्रश्नको जवाफमा एउटा सुनामी उठ्न सक्ने थियो, जसलाई उसले बलजफ्ती रोक्दैछ । एकछिनमा केदार पनि त्यहीँ आइपुग्छ । ऊ पनि मेरो स्कुल पढ्दादेखिको साथी हो ।
‘‘के छ रे काठमाण्डूवाला…? खूब मस्ती मार्दैछस् रे नि काठमाण्डूमा…?’’ केदारबाट पनि केही छैन भलाकुसारी, दुःख, सुख…सञ्चो–सुविस्ता…?
त्यहाँ सुशील पनि आइपुग्छ । ऊ पनि कराउँछ– ‘‘आज कसले चिया ख्वाउँछ भन्ने थियो, यो आइपुगेछ…!’’ ऊसितको पुरानो आत्मियता पनि चिया–चमेनामा आइपुगेर चिसिएको अनुभूत हुन्छ मलाई…!के छ, कसो छ, काठमाडौंमा, सुविधा, असुविधा ? खर्चले पुग्छ, पुग्दैन ? कोही सोध्दैनन् ।
‘‘चिया रे ? के को चिया ? काठमाण्डूवालाले त आज चिसो चिया ख्वाउनु पर्छ…!’’सबै साथी होइन दुश्मन लागिरहेछन्, मानौँ लुट्न तैयार छन् । म भाग्न खोज्छु । तर मलाई भाग्न कोही दिँदैनन् । सबैले चिया खान्छन् । म चियाको पैसा तिर्छु । त्यसमा कुनै दुःख छैन । तर चिसो चिया…? अहँ, असम्भव….! म चियाको पैसा तिर्नासाथ बेतोडसित हिंड्छु, मानौँ कुद्छु ।
‘‘भोलि आउँदैनस् ? काठमाडौंबाट के के ल्याइस्…?’’ मोहन कराउँदै हुन्छ । मेरो सबैभन्दा मिल्ने साथीको बोलीसमेत मलाई अमिल्दो, स्वार्थी लाग्छ ।
म पछाडि नफर्की हिँड्छु । घर पुग्छु । घर पुगेर पनि घर नपुगेझैँ लाग्छ । अरू केही दिन बस्नु छ । तर म सक्छु अरू केही दिन यसै गरी बस्न ? थाहा छैन । पहिले–पहिले बात मारेर नथाक्ने बा यसपालि बोल्न समेत पैसा तिर्नुपर्ला जस्तो गाह्रो मान्नु हुन्छ । कहिले नबिझाउने आमाका वाणी घोच्ने भएका छन् । भाइहरू कहिल्यै अघि शिर ठाडो पारेर बोल्दैनथे, अहिले थोरै पनि शिर नझुकाउने भए छन्…। बुहारीहरू कोही सोध्दैनन्, ‘दिदीलाई कस्तो छ…?’
अचानक म झस्किन्छु– बाआमाले नाति–नातिनालाई किन सोध्नु भएन ? म काठमाडौं बसेकैले हो त यस्तो परिवर्तन ? कि ना.सु.को जागिरे भएकोले ? घुस्याहा जागिरे हुन नसकेको उहाँहरूलाई थाहा छ कि छैन ? काठमाडौंमा थोरै रकम कलमले गुजारा चलाउन अत्यन्त गारो छ– कसैलाई थाहा छ कि छैन…? मेरो प्रिय घर ! केको परिवर्तन हो यो ? मेरो माटो किन आँखा तर्दैछ मलाई ? मेरो विराटनगरको छाती किन साँगुरो…?
मभित्र अनेकन् प्रश्नहरू आउँछन्–जान्छन् । दुई–चार दिन आफ्नो माटोमा बिताउनु मलाई कष्टकर लाग्दछ ।
एकदिन बालाई भन्छु, ‘‘म जान्छु अब !’’बा केही बोल्नु हुन्न ।
आमातिर उन्मुख हुन्छु र भन्छु, ‘‘थाहा छ आमा, हामी यहाँबाट जाँदा तीनजना छोराछोरी थिए, सानो काखको छोरो अहिले छैन । अब दुई जना छोराछोरी मात्र छन्…!’’
आमा बोल्नुअघि नै म फेरि भन्छु, ‘‘तपाईंको त्यो काखे नाति जन्डिसले गयो…!’’
म आँसु रोक्न सक्दिनँ…! यो झन्डै दुई वर्षदेखि लुकाइराखेको दुखद समाचारको भारी यसै गरी एक दिन बिसाउनु नै थियो, बिसाउँछु र अचानक उठ्छु । को–को कङ्कलाशब्द गरिरहेछन् ? को–को चिच्च्याइरहेछन् ? को–को दुःखमा समवेदना बोलिरहेछन् ? पर्वाह हुँदैन मलाई । जुरुक्क उठ्छु । आमाबाका खुट्टामा ढोगेर फटाफट अघि बढ्छु ।
‘‘चाहिँदैन, मलाई मेरै हालमा बाँच्न देऊ, मलाई कसैको सहानुभूति चाहिँदैन…!’’ मुखबाट हिक्का छुट्न खोज्छ, कसैगरी रोकिरहेछु । आँखामा आँसुको भेल छचल्किन खोजिरहेछ, त्यसलाई पनि कसैगरी रोकिरहेछु ।
बसपार्कमा पुगेर रुक्मिणीलाई फोन गर्छु– ‘‘म आज हिँड्दैछु । विराटनगरमा सारै गर्मी रहेछ, टिक्नै गाह्रो– म आउँदै छु…!’’
***
(‘गरिमा’ २०६८ कात्तिकको अङ्कमा प्रकाशित कथा)
(स्रोत : Ourbiratnagar.net)