जब जब म प्रेमकविता लेखूँ भन्छु
छाकसंग्राममा हर भाँचिएको बुढो भात
समयको जीर्ण फलैंचामा बसेर
फलाक्न थाल्छ
जिन्दगीका ह्यान र त्यान भयावहता
कोही खोरन्डो तक्मावालले
आफ्ना लाहुरेकालका
त्राशद युद्धकथाहरु हालेजसरी
हेरिरहेछु वर्षौंदेखि
चोकमा मकै भटमास बेच्ने त्यो यौटी केटीलाई
जसको चूक घोप्टाएजस्तो अनुहारमा
चन्द्रमाबाट देखिने ग्रेटवालजस्तै
जुँगाको मसिनो रेखी छ
भुइँचालोको डोज नपुगेर पूरै नभत्की
उभिएको जीर्ण घर जस्तो शरीर
र त्यस्तै-त्यस्तै मन बोकेर
ऊ तलाश गरिरहेकी छे यौटा भ्यालेन्टाइन
साँच्चै, कहाँ बाँडिन्छन् भ्यालेन्टाइनहरु
गुरुकुलमा कि कलेजमा ?
जब जब म प्रेमकविता लेखूँ भन्छु
त्यही केटी मेरो कलमको टुप्पोमा
ढसमस्स बसिदिन्छे
र अवरुद्ध गरिदिन्छे
एक मालगाडी रोमियोहरुको सवारी ।
जब जब म प्रेमकविता लेखूँ भन्छु
बाह्र घण्टामा तेह्र चोटी मर्ने बेरोजगारहरु
शब्द-शब्दको तुलसी मठमा लम्पसार परिदिन्छन्
त्यसमाथि लम्पसार परिदिन्छन्
मजदूरका सेप्रा पेटहरु
सहिदका भद्रगोल सपनाहरु
सहिद हुन बाँकीका गन्जागोल सपनाहरु
आनि
सबभन्दा माथि
धेरैको भागमा पर्ने
उही तेजावले डढेको कागज जस्तो देश !
के दिल टुटाउन
यति नै काफी छैन र दिलरुवा !
के मन चुँडाउन
यति नै पर्याप्त छैन र जानेमन !
जब जब म प्रेमकविता लेखूँ भन्छु
वाक्य-वाक्यमा गजधुम्म बसेका खण्डहरहरु
ढिम्किनै दिँदैनन् ताजमहललाई
र दिन्छन् स्पष्टीकरण-
हामीले पनि पुरेका छौँ
गरीब शाहजहाँहरुका निमुखा मुमताजहरु
फरक यत्ति हो
हामीसँग प्रेम मात्रै छ
संगमरमर छैन ।
(स्रोत : Salambihani)